बाल्ट्राको आधिकारिक बिक्रेता बालाजी एनपीको वार्षिक आम्दानी साढे १ अर्ब

0
Shares

होम अप्लाएन्सेस उत्पादक कम्पनी–बाल्ट्राको नेपालका लागि आधिकारिक बिक्रेता बालाजी एनपी प्रालिले सन् २०२२ मा १ अर्ब ३३ करोड ८० लाखको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ८ करोड ७० लाख बराबरको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा कम्पनीको आम्दानी २३ प्रतिशतले बढेको हो । सन् २०२१ को तुलनामा २०२२ मा कम्पनीको सञ्चालन आम्दानी बढेता पनि अन्य वित्तीय सूचांकमा सुधार देखिएको छैन ।

ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा सन् २०२१ मा कुल सञ्चालन आम्दानीको ९.८ प्रतिशत थियो भने सन् २०२२ मा उक्त नाफा ९.४ प्रतिशतमा झरेको छ ।

सन् २०१२ मा स्थापना भएको कम्पनीले स्थापनाको समयदेखि नै बाल्ट्रा ब्रान्डका होम डेकोर तथा किचन अप्लाइन्सेसको बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा बेला रानी अग्रवालको ९१ प्रतिशत लगानी छ भने कञ्चन कुमार अग्रवालको लगानी ९ प्रतिशत छ । कम्पनीका प्रबन्ध निर्देशक शुशिल कुमार जेन हुन् ।

नेपालभर कम्पनीका ६० भन्दा धेरै वितरक संस्थाहरु रहेका छन् । नेपालका विभिन्न सहरहरुमा वितरक संस्थाहरु उपस्थित हुँदा नेपालभर कम्पनीले बाल्ट्रा ब्रान्डका सामाग्रीहरुको बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले ८० करोड ६४ लाखको दीर्घकालीन तथा अल्पकलाीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रानेपालले ३९ करोड ६१ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डी र ४१ करोड बराबरको अल्पकालीन कर्जाका लागि समेत डि रेटिङ गरेको छ । कम्पनीको वित्तीय अवस्था स्वस्थ नै देखिएता पनि हालै कम्पनीले ट्रस्ट रिसीप्ट लोन फस्र्यौट गर्न नसक्दा इक्रा नेपालले कम्पनीको रेटिङ डी गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।