अप्पर लोहोरे खोला हाइड्रोको आइपीओ बिक्री खुला, कस्तो छ कम्पनी ?


अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले आज बिहीबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको १०० अंकित दरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो ।

जसअनुसार कम्पनीले ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।

जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्लाका स्थानियले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको १ लाख ९८ हजार ८२४ कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आज असार ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा निष्काशन अवधि साउन ५ गतेसम्म लम्बिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार २१ गतेभित्र आवेदन दिनु पर्नेछ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्ने छन् ।

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

कम्पनीको बारेमा

कम्पनीले माथिल्लो लोहोरे साना जलविद्युत आयोजनाबाट ४ मेगावट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.८४ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति ३१ वर्ष बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।