वर्ल्डलिंकको ‘सर्भिस ग्यारेन्टी’ सेवा, इन्टरनेट स्लो भए पैसा फिर्ता

0
Shares

निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले ग्राहकलाई थप विस्वस्त बनाउन ‘सर्भिस ग्यारेन्टी’ को सुविधा ल्याएको छ ।

ग्राहकहरुलाई इन्टरनेटको स्पीड सुस्त हुँदैन र उच्च गुणस्तरीय सेवा प्रदान गर्नका लागि वर्ल्डलिंक प्रतिबद्ध रहेको विश्वास दिलाउन नेपालमै पहिलो पटक शर्त अनुसारको सेवा वर्ल्डलिंकले ल्याएको हो ।

यस अन्तर्गत ग्राहकले आफ्नो घर तथा कार्यालयको इन्टरनेटको स्पीड सुस्त भएको महसुस गरेमा वर्ल्डलिंकले पैसा नै फिर्ता गर्ने सुविधा ग्राहकलाई प्रदान गर्ने भएको हो । आफ्ना ग्राहकहरुलाई विभिन्न समयमा विभिन्न अफरहरु प्रदान गर्दै आएको वल्र्डलिंकले पहिलो पटक ‘सर्भिस ग्यारेन्टी’ सुविधा प्रदान गर्ने घोषणा गरेको छ ।

इन्टरनेटको स्पीड स्लो हुँदा ग्राहकले वल्र्डलिंकलाई जानकारी गराएको खन्डमा वल्र्डलिंकले आफ्ना प्राविधिक कर्मचारीलाई ग्राहकको घरमै पठाएर इन्टरनेटको स्पीड जाँच गर्नेछन् र दोस्रो पटक पनि ग्राहकले इन्टरनेटको स्पीड स्लो भएको महसुस गरेमा ग्राहकले पैसा फिर्ता पाउने छन् । अन्य सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको रकम बढाइरहेको समयमा वल्र्डलिंकले ग्राहकलाई सन्तुष्ट बनाउनमा प्रतिबद्ध रहेको छ ।

शंखमुल बसोबास गर्दै आएकी आकृति थापाले वल्र्डलिंकको २०० एमबिपिएसको इन्टरनेट सुविधा लिँदै आएकी छिन् । पेसाले इन्जिनियर रहेकी उनले अन्तराष्ट्रिय परियोजनामा आवद्ध भई काम गरिरहेकी छिन् । घरबाट नै ठूला ठूला परियोजनाको रणनीति बनाउने, प्रोडक्टको प्रोटोटाइप बनाउने काम गर्ने उनलाई हाइ स्पीड इन्टरनेट आवश्यक पर्छ । वल्र्डलिंकको २०० एमबीपीएसको इन्टरनेट चलाइरहेकी उनले वल्र्डलिंकको पैसा फिर्ता अफर सुनेर हर्षित भएकी छिन् । उनी भन्छिन्, ‘पछिल्लो समय वल्र्डलिंकले राम्रो इन्टरनेट सेवा प्रदान गरिरहेको छ । इन्टरनेट जाँदा फोनमा म्यासेज आउछ, केही समस्याले इन्टरनेट नचल्दा कम्पनीको कस्टुमर सर्भिसमा कल गर्दा छिटो रेस्पोन्स पनि आउँछ । पैसा फिर्ता नै गर्ने निर्णयले थप हर्षित छु ।’ आफूले आजसम्म त्यस्तो कुनै समस्या नभोगेको बताउँदै उनले सर्भिस ग्यारेन्टी सुविधा अन्तर्गतको क्यासब्याक सुविधाले ग्राहकको मन जितेको बताइन् ।

विगत २७ वर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दै आएको वल्र्डलिंकका हाल ७ लाख ८० हजार प्रयोगकर्ता रहेका छन् । वल्र्डलिंकको सर्भिस ग्यारेन्टी सुविधा ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले कुनै थप शुल्क बिना नै पाउनेछन् । हाल ‘स्ट्यान्डर्ड अफर प्याकेज’ बाहेकका अन्य प्याकेज प्रयोग गरिरहेका प्रयोगकर्ताहरुले यो सुविधा पाउने छैनन् । तथापि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र मनी ब्याकग्यारेन्टी सुविधा प्रयोग गर्न पाउनेछन् ।

स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले इन्टरनेटको स्पीड स्लो हुने बित्तिकै इन्टरनेट स्लो भएको जानकारी वल्र्डलिंकको कार्यालयमा फोन, शाखा कार्यालय तथा अनलाइन मार्फत जानकारी गराउनु पर्नेछ । वल्र्डलिंकले आफ्ना प्राविधिक कर्मचारी लाई ग्राहकको ठेगानामा ईन्टरनेट स्पीड चेक गर्न पठाँउनेछ, ईन्टरनेट स्लो भएको कारण पत्ता लगाइ समस्याको समाधान गर्नेछ । तथापि स्पीडको समस्या यथावत रहेमा ग्राहकले क्यास ब्याकग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछन् । रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छ सो बराबरको रकम मात्र फिर्ता पाउने व्यवस्था छ । उदाहरणका लागि ९० दिनको प्याकेज लिएकोे ग्राहकले २५ दिन उपभोग गरीसकेको छ भने ६५ दिनको रकम मात्र फिर्ता पाउनेछन् ।

देशभरका मुख्य शहरहरुमा मनी ब्याक ग्यारेन्टीको सुविधा लागु हुने छ । विभिन्न सहरहरुमा छरिएर रहेका ५१ वटा शाखाबाट ग्राहकले यो सुविधा लिन सक्नेछन् । आगामी दिनहरुमा यो सुबिधा अरु शाखाहरुमा पनि उपलब्ध गराउँदै जाने वल्र्डलिंकले जनाएको छ । हाल वल्र्डलिंकले नेपालका ७४ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) को १ अर्ब ९८ करोड संयुक्त लगानी प्राप्त गरेको छ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ताबाट ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड नेपाली रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात ९० करोड नेपाली रुपीयाँ बराबरको लगानी वर्ल्डलिंकले प्राप्त गरेको हो । जुन इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो ।

२०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाईसकेको छ । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्ककै सबैभन्दा उच्च हो ।

वर्ल्डलिंक ७ लाख ५० हजार भन्दा बढी ग्राहकहरु भएको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो, जसले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी देशभर इन्टरनेट विस्तारका गतिविधिहरुलाई गति दिने कार्य गरिरहेको छ ।

वर्ल्डलिंक देशको सबैभन्दा ठूलो रोजगार प्रदायक कम्पनी पनि हो । हाल यस कम्पनीमा ५ हजार ५ सय कर्मचारीले रोजगारी पाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।