पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो ।
अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन् ।
अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । ठूलो वर्षाका कारण केही ग्रामीण सडरुमा समेत आवतजावत बन्द भएको छ ।
कान्तिलोकपथ पनि अवरुद्ध
कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ । त्यस्तै, मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित प्रमुख जिल्ला अधिकारी नेतप्रसाद शर्माले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
