नागरिक लगानी कोषको साधारण सभा असार ३१ गते आह्वान, २६.३२% लाभांश प्रस्ताव

0
Shares

नागरिक लगानी कोषले लाभांश पारित गर्न यहि असार ३१ गते आइतबार २८ औं वार्षिक साधारण सभा बोलाएको छ । असार ९ गते शनिबार बसेको कोष सञ्चालक समितिको ७७६ औं बैठकले असार ३१ गते सभा बोलाउने निर्णय गरेको हो ।

बैठकले असार ३१ गते आइतबार कोषको केन्द्रीय कार्यालय, सी.आई.टी. बिल्डिङ, नयाँ बानेश्वर अपराह्न ३.०० बजे वार्षिक साधारण सभा आह्वान गरिएको छ ।

२८ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई प्रस्तावित २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने कोषको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल असार मसान्तको वासलात, नाफा र नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै सभामा कोषको सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरू मध्येबाट त्यस्ता संस्थाले तोके बमोजिम निर्वाचित वा मनोनीत गरेको एक सञ्चालकको निर्वाचन गर्ने र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक–एक जना प्रतिनिधि नियुक्त गर्ने निर्णय पनि सभाबाट हुनेछ ।

कोषले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असार १९ गते मंगलबार एकदिन सेयर बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोजअनुसार असार १८ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्रै कोषको लाभांश प्राप्त गर्ने छ ।

हाल ४ अर्ब २५ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कोषको प्रस्तावित २५ प्रतिशत बोनस सेयर वितरणपछि ५अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले ८८ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएर २७ रुपैयाँ १५ पैसा प्रतिसेयर आम्दानी कायम गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।