आनन्द एग्रो इन्डष्ट्रिजको वार्षिक आम्दानी ८९ करोड

0
Shares

‘भगत’, ‘कलश’ र ‘त्रिनेत्र’ लगायतका ब्रान्डनामबाट चामलको उत्पादन तथा बिक्री वितरण गर्दै आएको आनन्द एग्रो इन्डष्ट्रिजले सन् २०२२ मा ८९ करोड आम्दानी गरेको छ ।

सन् २०२१ मा ८२ करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२२ मा ८.२७ प्रतिशतले बढेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा समेत सुधार आएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा सन् २०२२ मा कुल सञ्चालन आम्दानीको १२.५४ प्रतिशत रहेको छ । जुन सन् २०२१ मा कुल सञ्चालन आम्दानीको ६.०८ प्रतिशत थियो ।

सन् २०१६ मा स्थापना भएको आनन्द एग्रो इन्डष्ट्रिज प्रालिले चामलको प्रशोधन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको प्लान्ट रुपन्देहीको रोहिनीमा रहेको छ । प्रति घन्टा ६ मेट्रिक टन प्रशोधन गर्न सक्ने कम्पनीको क्षमता छ ।

कम्पनीका अध्यक्ष आनन्द पन्थी रहेका छन् । आनन्द सोया उद्योग, आनन्द दाना उद्योग, आनन्ल राइस एन्ड आयल प्रालि, आनन्द खाद्य उद्योग र आनन्द दाल मिलमा पन्थीको एकल स्वामित्व रहेको छ ।

नेपाली भान्सामा प्रयोग हुने खाद्यान्न उत्पादन गर्दै आएको कम्पनीको आगामी समयमा नाफा बढ्ने देखिन्छ । नेपालीहरुको प्रमुख भोजनमा भात र दाल पर्ने हुँदा जनसङ्ख्या वृद्धि भएसँगै माग बढ्दै गएको छ ।

कम्पनीले ८२ करोड ३० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । २६ करोड ३१ लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयरनेपालले डबल बी र ५५ करोड ९९ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको १.५३ गुणा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।