सुकुम्बासी व्यवस्थापन तथा भूमिसम्बन्धी काम भइरहेका छन् – भूमिमन्त्री चौधरी


भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मुलुकभरका सुकुम्वासीहरुको व्यवस्थापनको काम क्रमबद्धरुपमा भइरहेको बताएकी छिन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताउनुभएको हो ।

भूमिहिन दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोगबाट कार्य भैरहेको जानकारी दिँदै कमैया, कमलरी लगायतका विषयको सम्वोधनका लागि कार्यविधि तयार गरी स्थानीय तहमार्फत प्रकृया अगाडी बढाइने बताइन् । सबै प्रदेश सरकारसँग समेत समन्वय गर्ने पनि उनले जानकारी दिइन् ।

यस्तै मन्त्री चौधरीले सांसद बलराम भण्डारीले सरकारले जग्गा किनबेचमा किन रोक लगाएको भनि गरेको प्रश्नमा सरकारले जग्गा किनबेचमा रोक नलगाएको प्रष्ट पारेकी थिइन् । उनले भूमिको दिगो विकास र उपयुक्त व्यवस्थापनका लागि भू उपयोग नियमावली जारी भएको र त्यसको संसोधनको तयारी भैरहेको समेत जानकारी दिइन् ।

बैठकमा सांसदहरुले सहकारीमा देखिएको विकृति र यसको समाधानमा सरकारले ठोस योजना ल्याएर कार्यान्वयन गर्न नसकेको भन्दै समस्या समाधान कहिले हुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा भूमिमन्त्री चौधरीले सहकारी विभाग मार्फत कार्ययोजना तयार गरि आफ्नो कार्य क्षेत्रभित्र पर्ने सहकारीहरुको अनुगमन र निरिक्षण गर्ने कार्य भइरहेकोकाले समाधानको प्रयास भइरहेको जानकारी दिएकी थिइन् । सबै सहकारीहरुलाई अनुगमन तथा निरिक्षण भैरहेको उनको भनाई थियो ।

समस्याग्रस्त सहकारीको उचित व्यवस्थापनका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय गठन भै कार्य भैरहेको उनले जानकारी दिएकी थिइन् । राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा सहकारी समस्या समाधान कार्यदल गठन भएको र उक्त कार्यदलको प्रतिवेदन प्राप्त भएपछि कार्यदलको सुझाव बमोजिम थप कार्यहरु गर्ने उनको प्रष्टोक्ती थियो ।

सांसदहरुले मुलुकको सीमा क्षेत्र र सीमाङनका सम्बन्धमा उठाएका प्रश्नको जवाफमा भूमि मन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय मार्फत कुटनीतिक पहल भैरहेको जवाफ दिएकी थिइन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।