जीवन बीमा कम्पनीले लघु बीमाबाट जेठमा गरे पौने १७ करोडको कारोबार

0
Shares

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनामा १६ करोड ७६ लाख ५४ हजार बराबरको व्यवसाय लघु बीमा मार्फत गरेका छन् ।

वैशाख महिनामा १६ करोड ७९ लाख २५ हजार व्यवसाय गरेका कम्पनीहरुको व्यवसाय जेठ महिनामा २७ लाख १० हजारले घटेको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको जेठ महिनासम्ममा कुल २ अर्ब १३ करोड ९१ लाख बराबरको लघु जीवन बीमा व्यवसाय गरेका छन् । यस अघि वैशाख महिनासम्ममा लघु जीवन बीमा बापत १ अर्ब ९७ करोड १४ लाख बीमा शुल्क संकलन भएको थियो । वैशाख महिनासम्मको तुलनामा जेठमा कुल लघु बीमा शुल्क १६ करोड ७७ लाखले बढेको हो ।

जीवन बीमा कम्पनीहरुले जेठ महिनामा प्रथम लघु बीमा शुल्क मार्फत १५ करोड ९२ लाख ६ हजार संकलन गरेका छन् भने नवीकरण बीमा शुल्क बापत ८४ लाख ४८ हजार संकलन गरेका छन् ।

प्रथम बीमा शुल्कमा सर्वाधिक नेशनल लाइफ इन्स्योरेन्सले गरेको छ । जेठ महिनामा कम्पनीले ६ करोड ३ लाख ६० हजार प्रथम बीमा शुल्क मार्फत संकलन गरेको छ। सिटिजन्स लाइफले ४ करोड ६१ लाख ९७ हजार, सानीमा रिलायन्स लाइफले १ करोड ७० लाख १९ हजार र सूर्य ज्योति लाइफले १ करोड ३१ लाख ९१ हजार बराबरको लघु बीमा व्यवसाय गरेका छन् ।

नवीकरण बीमा शुल्क मार्फत जेठ महिनामा जीवन बीमा कम्पनीहरुले ८४ लाख ४८ हजार संकलन गरेका छन् । चालु आवको जेठ महिनासम्म ४१ लाख ६९ हजार २०६ वटा लघुबीमा पोलिसी सक्रिय रहेका छन् ।

सरकारले न्यून आय भएका मानिसहरुलाई बीमाको दायरामा समेट्न लघु जीवन बीमा पोलिसी सञ्चालनमा ल्याएको छ । हाल १३ जीवन बीमा कम्पनीहरुले लघु जीवन बीमा सञ्चालन गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।