औद्योगिक क्षेत्रमा कर्जा लगानी ९% ले घटेपछि औसत क्षमता उपयोगमा गिरावट

0
Shares

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट औद्योगीक क्षेत्रमा कर्जा लगानी घटेसंगै उद्योगहरुको औसत क्षमता उपयोगमा गिरावट आएको छ । कर्जा लगानीमा कमी संगै आर्थिक गतिविधिमा आएको सुस्तता र बजारमा माग घटेसँगै उद्योगको उपयोग क्षमतामा गिरावट आएको हो ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा उद्योगको औसत क्षमता उपयोग ४३.०७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४८.३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सञ्चालनमा रहेका उद्योगमध्ये बिजुलीको क्षमता उपयोग ९३.१९ प्रतिशत, चकलेट उद्योगको क्षमता उपयोग ८५.५९ प्रतिशत र प्रशोधित चियाको क्षमता उपयोग ८५.३९ प्रतिशत रहेको छ । उद्योगहरुमध्ये वनस्पती घ्यू, तोरीको तेल, भटमासको तेल, चामल, गहुँको पिठो, पशुदाना, बिस्कुट, चाउचाउ, मदिरा, हल्का पेय पदार्थ, सिन्थेटिक कपडा, प्रशोधित छाला, रंग, ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, लिक्युड, साबुन उद्योगको उपयोग क्षमतामा गिरावत आएको छ ।

त्यसैगरी प्लाष्टिकका सामान, सिमेन्ट, कंक्रिट, फलामको छड तथा पत्ति, आल्मुनियम उत्पादन, बिजुलिका तार र केबुल, टायर तथा ट्यूव, छालाको जुत्ता र कपडाको जुत्ताको क्षमता उपयोग बढेको छ भने प्रशोधित दुध, चिनी, चकलेट, प्रशोधित चिया, वियर, चुरोट, धागो, पश्मिना, गार्मेन्ट, जुटका सामान, कच्चा छाला, चिरेको काठ, कागज, रोजिन, , ईटा, स्टिलजन्य उत्पादन, जि. आई तार, जि.आई पाईप, घरेलु धातुका सामान र चप्पलको क्षमता उपयोग घटेको छ ।

२०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ६.९ प्रतिशतले कमी भई १३ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १९.४ प्रतिशतले बढेको थियो । बैंक वित्तीय संस्थाको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २७.९ प्रतिशत रहेको छ ।

औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा १.३ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २०.१ प्रतिशत, गैर–खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा ३९.६ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा १३ प्रतिशत, विद्युत् ग्यास तथा पानी सम्बन्धी उद्योगमा २० प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ६ प्रतिशत कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ ।

औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ९ खर्ब २ अर्ब ८८ करोड कर्जा लगानी रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ५ अर्ब २८ करोड कर्जा प्रबाह भएको छ । औद्योगिक कर्जामा कोशी प्रदेशमा प्रवाहित कर्जाको हिस्सा ९.५२ प्रतिशत, मधेश प्रदेशको ८.४९ प्रतिशत, बागमती प्रदेशको ६७.२१ प्रतिशत, गण्डकी प्रदेशको २.९७ प्रतिशत, लुम्बिनी प्रदेशको ९.२५ प्रतिशत, कर्णाली प्रदेशको ०.३९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा प्रवाहित कर्जाको हिस्सा २.१७ प्रतिशत रहेको छ ।

२०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७८ पुस मसान्तको तुलनामा ९.१ प्रतिशतले वृद्धि भई ५३ खर्ब ४७ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १४.५ प्रतिशतले वृद्धि भएको थियो । २०७८ पुस मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले वृद्धि भई ४८ खर्ब १३ अर्ब ८७ करोड पुगेको छ । सो अवधिमा मधेश प्रदेशको कर्जा निक्षेप अनुपात सबैभन्दा बढी १७३.२ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम ७२.२ प्रतिशत रहेको छ ।

२०७९ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६९.४ प्रतिशत रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशको १.२ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा बागमती प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा प्रवाहको अंश सबैभन्दा धेरै ५५.६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा प्रवाहको अंश १.२ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।