निजी विद्यालयका शिक्षकलाई पनि सरकारी सरहकै तलब दिन बालेनको निर्देशन


काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयका शिक्षकलाई पनि सरकारी सरहकै तलब दिन निर्देशन दिएका छन् ।

निजी विद्यालयमा पढाउने शिक्षकले कम तलब पाएको गुनासो आएको भन्दै बालेनले सरकारी सुविधा सरह नै तलब दिन निर्देशन दिएका हुन् ।

मेयर शाहले निजी विद्यालयका शिक्षकले सरकारले तोकेबमोजिम तलब नपाए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । उनले सामुदायिक विद्यालयको तलब स्केल सार्वजनिक गर्दै संस्थागत विद्यालयका शिक्षकले पनि त्यहीअनुसार तलब पाउनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकामा संस्थागत (निजि) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ।’ उनले निजि विद्यालयको तलब पनि कानूनमा तोकेबमोजिम हुनु पर्ने उल्लेख गरेका छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।