एसआर फुड्सको ९ महिनाको आम्दानी ९० करोड, २७ प्रतिशतले वृद्धि

0
Shares

चालु आर्थिक वर्षको ९ महिनामा एसआर फुड्सले ८९ करोड ३० लाख बराबरको कारोबार गरेको छ ।

गत आर्थिक वर्षमा ९३ करोड ६० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी चालु आवको ९ महिनामा २७ प्रतिशतले बढेको हो । गत आवको सञ्चालन आम्दानीलाई चालु आवको ९ महिनाको सञ्चालन आम्दानीसँग तुलना गर्दा कम्पनीको कारोबारमा वृद्धि देखिएको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएसागै अन्य वित्तीय सूचांकमा समेत सुधार आएको छ । चालु आवको ९ महिनामा ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर सहितको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको १४.९ प्रतिशत रहेको छ । जुन गत आवमा १०.३ प्रतिशत थियो ।

सन् २०१२ मा स्थापना भएको कम्पनीले आटा, मैदा, ढुटो उत्पादन गर्दै आएको छ। कम्पनीको उत्पादन युनिट रुपन्देहीको पदश्रीमा अवस्थित छ । कम्पनीका अध्यक्ष सिताराम उप्रेती रहेका छन् ।

कम्पनीका प्रमोटरहरु रियल स्टेट, लोजिस्टीक तथा दैनिक उपभोग्य खाद्यवस्तु (एफएमसीजीं) क्षेत्रमा सक्रिय रहेका छन् । चामल पछि नेपालमा आटा र मैदा सर्वाधिक प्रयोग हुने खाद्यान्न हो ।

विशेषगरी तराई मूलका मानिसहरुले खानामा रोटी खाने हुँदा नेपालमा आटा र मैदाको माग बढ्दै गएको छ । जसको सकरात्मक प्रभाव कम्पनीको आम्दानीमा परेको छ ।

कम्पनीले ५८ करोड ४६ लाख ४० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एनेन्सी इक्रा नेपालले २० करोड १४ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र ३८ करोड ३२ लाख ४० हजार बराबरको अल्पकलीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ३.३ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।