कतार एयरलाइन्समा प्राविधिक समस्या आएपछि रोकियो उडान, यात्रुको विचल्ली

0
Shares

शनिबार साँझ ६ बजे कतारको राजधानी दोहा उड्नुपर्ने कतार एयरलाइन्सको उडान नम्बर क्युआर ६४७ मा प्राविधिक समस्या आएपछि २६५ यात्रु समस्यामा परेका छन् ।

शनिबार साँझ केही घन्टामै उडान हुने जानकारी दिएको कतार एयरलाइन्सले १८ घन्टासम्म उडान कहिले हुन्छ भन्ने बारे यात्रुलाई कुनै जानकारी गराएको छैन । ६ बजे हुने भनिएको उडान ८ बजे, १० बजे भन्दै ५ घन्टा कुराएर यात्रुलाई राती ११ बजेपछि आज उडान नहुने जानकारी गराएको थियो ।

त्यसपछि राति सोल्टीमोड स्थित पाँच तारे होटल सोल्टीमा पुर्‍याएको एयरलाइन्सले आइतबार मध्याह्न १२ बजेसम्म उडान बारे केही पनि जानकारी नगराएको उक्त उडानबाट कतार जान लागेका एक यात्रुले जानकारी दिए ।

उनले भने, ‘शनिबार उडान हुने भनी राति साढे ११ बजेसम्म एयरपोर्ट मै बसियो । तर ५ घन्टा कुरिरहँदा पनि प्लेनको ढोकामा देखिएको समस्या समाधान नभएपछि हामीलाई होटल सोल्टी लगियो । हालसम्म हामीलाई कतिबेला उडान हुने भनेर जानकारी गराइएको छैन । हामी सुनको पिँजडामा थुनिएको चराजस्तै भएका छौं । ’

कतार एयरलाइन्सको हात्तीसारस्थित कार्यालयमा पटक–पटक सम्पर्क गर्दा फोन नउठेको र आफूहरु अलपत्र भई बस्न बाध्य भएको उनको गुनासो छ । तथापि कतार एयरलाइन्स पहुँच भएका १०५ यात्रुहरुलाई आइतबार बिहानको उडान दोहा पुर्‍याइसकेको छ । बाँकी यात्रुहरुलाई उडानका विषयमा सामान्य जानकारी समेत नहुँदा उनीहरू बिच्चलीमा परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले कतार एयरलाइन्सको उडान नम्बर क्युआर ६४७ मा देखिएको प्राविधिक समस्या समाधान भएपछि दोहाको उडान सञ्चालन गर्ने र नभएको खन्डमा अन्य उडान मार्फत यात्रुहरुलाई दोहा पुर्‍याउने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।