एघार महीनामा ३६ अर्बको निर्जीवन बीमा ब्यवसाय, ६ प्रतिशतले बढ्यो

0
Shares

चालु आर्थिक वर्ष २०७९/८० को एघार महीना अवधि अर्थात जेठ महिनासम्ममा ३६ अर्ब १९ करोड रुपैयाँ बराबरको निर्जीवन बीमा ब्यवसाय भएको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा निर्जीवन बीमा ब्यवसाय ५.९७ प्रतिशतले विस्तार भएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले ३६ अर्ब १९ करोड रुपैयाँ ८८ लाख ३९ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । गत आवको एघार महीनामा ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो ।

जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले १ लाख ९१ हजार २२६ वटा बीमालेख जारी ३ अर्ब ५० करोड ९२ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले बैशाख महिनामा २ अर्ब ६७ करोड ४७ लाख ७० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा जेठमा ३१.१९ प्रतिशतले बढेको हो ।

जेठ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २५ लाख ३७ हजार ४१६ वटा बीमालेख जारी गरेका हुन् ।

बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स पहिलो, नेशनल इन्स्योरेन्स अन्तिम

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कमा सधैँ झै यस पटक पनि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो स्थानमा रहेको छ । कम्पनीले जेठसम्ममा ४ अर्ब ७६ करोड ८ लाख ३७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो रकम कुल निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको १३.१५ प्रतिशत बराबर हो ।

यस्तै दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ११.२९ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ११.१० प्रतिशत बीमाशुल्क संकलन गरेका छन् । सगरमाथा लुम्बिनीले जेठ मसान्तसम्म ४ अर्ब ८ करोड ८६ लाख २५ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियरले ४ अर्ब १ करोड ७४ लाख ४७ हजार रुपैयाँ बीमाशुल्क उठाएका छन् ।

यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ६ करोड २३ लाख ८३ हजार रुपैयाँ र आइएमई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब १ करोड ९९ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

चालु आवको ११ महीना अवधिमा नेको इन्स्योरेन्सले २ अर्ब ६६ करोड ९४ लाख ९८ हजार रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २६ करोड २३ लाख ७३ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १४ करोड ८३ लाख ४५ हजार रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्सले २ अर्ब ४ करोड ८१ लाख ९४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

समीक्षा अवधिमा नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र दी ओरियन्टल इन्स्योरेन्सले एक अर्बदेखि डेढ अर्बको बीचमा बीमाशुल्क संकलन गरेका छन् । जेठसम्ममा नेपाल इन्स्योरेन्सले १ अर्ब ४१ करोड ३ लाख ४२ हजार, प्रभु इन्स्योरेन्सले १ अर्ब ४० करोड ७७ लाख ५४ हजार र दी ओरियन्टल इन्स्योरेन्सले १ अर्ब २४ करोड ८६ लाख ८४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

बीमाशुल्क संकलनका आधारमा सबैभन्दा अन्तिममा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडको रहेको छ । सो कम्पनीले जेठसम्म ९० करोड ७५ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

निर्जीवन बीमा कम्पनीहरुले जेठसम्म संकलन गरेको बीमाशुल्क यस्तो छः–

१. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडः ४ अर्ब ७६ करोड ८ लाख ३७ हजार रुपैयाँ
२. सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडः ४ अर्ब ८ करोड ८६ लाख २५ हजार रुपैयाँ
३. सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडः ४ अर्ब १ करोड ७४ लाख ४७ हजार रुपैयाँ
४. युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडः ३ अर्ब १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ,
५. हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडः ३ अर्ब ६ करोड २३ लाख ८३ हजार रुपैयाँ
६. आइएमई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडः ३ अर्ब १ करोड ९९ लाख ८६ हजार रुपैयाँ
७. नेको इन्स्योरेन्स लिमिटेडः २ अर्ब ६६ करोड ९४ लाख ९८ हजार रुपैयाँ,
८. राष्ट्रिय बीमा कम्पनी लिमिटेडः २ अर्ब २६ करोड २३ लाख ७३ हजार रुपैयाँ
९. एनएलजी इन्स्योरेन्स लिमिटेडः २ अर्ब १४ करोड ८३ लाख ४५ हजार रुपैयाँ
१०. सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडः २ अर्ब ४ करोड ८१ लाख ९४ हजार रुपैयाँ
११. नेपाल इन्स्योरेन्स लिमिटेडः १ अर्ब ४१ करोड ३ लाख ४२ हजार रुपैयाँ
१२. प्रभु इन्स्योरेन्स लिमिटेडः १ अर्ब ४० करोड ७७ लाख ५४ हजार रुपैयाँ
१३. दी ओरियन्टल इन्स्योरेन्स लिमिटेडः १ अर्ब २४ करोड ८६ लाख ८४ हजार रुपैयाँ
१४. नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडः ९० करोड ७५ लाख ८१ हजार रुपैयाँ

बाह्र कम्पनीको बीमाशुल्क बढ्दा दुईको घट्यो

जेठ मसान्तसम्मको वित्तीय विवरण अनुसार अघिल्लो जेठसम्मको तथ्याङ्कलाई आधार मान्दा बाह्र कम्पनीको बीमाशुल्क बढ्दा दुई कम्पनीको भने घटेको छ ।

समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क सर्वाधिक ३३.०८ प्रतिशतले बढेको छ । यस्तै सानिमा जिआईसी इन्स्योरेन्सको १८.७५ प्रतिशत, नेशनल इन्स्योरेन्स १३.२२, युनाइटेड अजोड इन्स्योरेन्स ११.९०, आइएमई प्रुडेन्सियल इन्स्योरेन्सको १०.१३ र प्रभु इन्स्योरेन्सको १०.११ प्रतिशतले बीमाशुल्क बढेको हो ।

यसैगरी यस अवधिमा शिखर इन्स्योरेन्सको ८.०४ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.४४, नेको इन्स्योरेन्स र दी ओरियन्टल इन्स्योरेन्सको समान २.१७ प्रतिशत र एनएलजी इन्स्योरेन्सको २.०६ प्रतिशतले बढोत्तरी भएको छ । सबैभन्दा कम वृद्धि गरको नेपाल इन्स्योरेन्सको बीमाशुल्क ०.२७ प्रतिशत मात्र बढेको छ ।

उता साउनदेखि जेठसम्मको अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सबैभन्दा धेरै ३.७४ प्रतिशतले घटेको छ भने सगरमाथा लुम्बिनीको २.२८ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।