आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ असार २१ देखि मात्रै बिक्री खुल्ने


आईएमई लाइफ इन्स्योरेन्सले असार २१ गते बिहीबारदेखि मात्रै  प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ ।  यसअघि असार २० गते (आज) देखि सेयर निष्कासन गर्ने सूचना जारी गरेकाे कम्पनीले प्राविधिक कारण दर्शाउँदै  बिहीबार देखि मात्रै सेयर बिक्री खुला गर्ने जनाएकाे हाे ।           

बीमा क्षेत्रमै पहिलो पटक आईएमई लाइफले प्रिमियममा आइपीओ निष्कासन गरेकाे  हाे । इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्काशन गरेकाे हाे ।

इन्स्योरेन्सले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमा १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ ।

त्यसैगरी, निष्काशन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले कम्पनीको आइपीओमा असार २१ गतेदेखि सोही महिनाको २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि श्रावण ४ गतेसम्म लम्बिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो ।

आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत भएको छ । आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।

कम्पनीले यसअघि नै नेपाल सरकारकाे सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक राेजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख कित्ता सेयर जारी गरी बाँडफाँड समेत गरिसकेकाे छ  । असार १ देखि १५ गतेसम्म बिक्री खुला गरिएकाे सेयर रितिपुर्वक आवेदन दिएका २२ हजार ४४४ जना आवेदकलाई असार १९ गते मंगलबार बाँडफाँड गरिएकाे बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएकाे छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।