बेरुजु रहेको कर तदरुकताका साथ उठाउन आइआरडीलाई अर्थमन्त्रीको निर्देशन


अर्थमन्त्री डा. प्रकाश शरण महतले बेरुजु रहेको कर तदारुकताका साथ उठाउन आन्तरिक राजस्व विभाग (आइआरडी) लाई निर्देशन दिएका छन् । उनले बुधबार आन्तरिक राजश्व विभाग अन्तर्गका कर्मचारीलाई काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका हुन् ।

मन्त्री महतले आर्थिक ऐन २०८० को दफा २६, २७ र २९ मा महालेखा परिक्षकले देखाएको बेरुजुलाइ उठाउन छुटकाे  व्यवस्था गरेको छ । ती दफाका आधारमा आन्तरिक राजस्व विभागले खर्ब भन्दा धेरै राजस्व संकलन गर्नसक्ने अनुमान छ । यसमा संस्थागत रुपमा सेयर तथा घरजग्गाका कारोबार गर्नेको बक्यौता रहेको कर तथा मर्जरमा भएको लाभ र सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा तिर्नुपर्ने आयकर बक्यौतामा शुलक तथा ब्याज छुटको व्यवस्था गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा संकलन गरेको राजस्वबाट चालु खर्चका लागि पनि नपुगेको अवस्था छ । त्यसैले मन्त्री महतले चालु आव र आगामी आवमा राजस्व संकलनको लक्ष्य पूरा गर्न कर्मचारीलाई बेरुजुलाई तदारुकताका साथ उठाउन निर्देशन दिएका हुन् ।

अर्थमन्त्रीले कर्मचारीलाई राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले यो वर्ष र आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर काम गर्नु पर्ने बताएका हु्न् ।

‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा नहेर्न, आग्रह गर्दै मन्त्री डा. महतले निर्देशनको क्रममा भने, “कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।” डा. महतले व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नगर्न समेत उनल बताए । राम्रो काम गर्ने साथीहरुलाई मन्त्री महतले धन्यवाद दिएका छन् ।

“अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने हो, राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने श्रोत जुटाउने जिम्मेवारीमा हामी छौं,” उनले भने,“त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ । अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ ।” तलब भत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने आफुले चाहेको उनले बताए ।

‘राजस्वको दायरा बढाउँछौं भनेर मात्र बढ्दैन, अर्थतन्त्रले गति लिनुपर्छ, त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत् पनि पुँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेको उनले बताए । बुँदागत स्पष्ट प्रस्ताव रहेको बताउदै उनले भने, “भन्सार र आन्तरिक राजस्व उठाउने कुरामा हामीले गम्भिर ध्यान दिनुपरेको छ ।’

सधैं भन्सारमा आधारित राजस्वमा निर्भर हुन नसकिने मन्त्री महतले बताए । आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्ने बताउँदै उनले भने,“यो सुरु भइसकेको पनि छ । आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी छ ।”

आन्तरिक राजस्व विभागमार्फत् यसको दायरा वृद्धि गर्ने दुईवटा उपाय भएको मन्त्री डा. महतले बताए । ‘पहिलो हो, अर्थतन्त्र चलायमान बनाउन सकियो भने स्वतः कर लिने आधार वृद्धि हुन्छ । अर्को अहिलेकै अवस्थामा पनि जुन वर्ग समूह करको दायरामा आउनुपर्ने हो, उनीहरु आइरहेका छैनन् । उनीहरुलाई करको दायराभित्र ल्याएर कर संकलन वृद्धि गर्नुपर्ने उनले बताए ।

मन्त्री डा. महतले भने, “हामीले धेरै नयाँ कर प्रस्ताव गरेका छौं । नेपालमा भ्याट लागाउन थालेपछि हाम्रो करको दायरा बढ्यो । पछिल्लो समय भ्याटको दायरा खुम्चाउँदै लगियो । यसले पनि समस्या ल्याउँदै गयो । कतिपय आय करको दायरामा आउनुपर्ने वर्ग समूह छ, त्यो आउन चाहँदैन ।” करको दायरामा ल्याउने संयन्त्र हामीले प्रयोग नगरेको समेत उनले बताए ।

‘भ्याटलाई हामी गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ । सेवाग्राहीले राज्यलाई तिर्ने रकम पनि दुरुपयोग हुनु गम्भीर बिषय हो । सेवाग्राहीले राज्यलाई छुट्टयाएको रकम अरुले प्रयोग गर्ने गरी छुट दिन मिल्दैन । व्यवसायीले बिक्रीको क्रममा भ्याट उठाउँछन्, त्यो राजस्वमा विना शर्त दाखिला गर्नुपर्ने उनले बताए । “विभिन्न खाले दुरुपयोग रोक्नुपर्छ, बेरुजु तदरुकताका साथ उठाउनुपर्छ,” मन्त्री डा. महतले भने ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।