उपत्यकामा पाँच स्थानमा ट्राफिक पोष्ट थपिए


काठमाण्डौं उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाण्डौं, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका हुन् ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाण्डौंको मूलपानी र धर्मस्थली, भक्तपुरको दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ ।

पाँच पोष्ट थप गरेसँगै अब उपत्यकाभित्रका ६६ स्थानबाट ट्राफिक व्यवस्थापन हुनेछ । थपिएका पाँच अस्थायी ट्राफिक प्रहरी पोष्टबाट उपत्यकाभित्रका मोफसलमा रहेका स्थानमा समेत ट्राफिक व्यवस्थापन र आवागमनमा थप सहजता हुने विश्वास लिइएको छ ।

हाल काठमाण्डौं उपत्यकाभित्र एक हजार आठ सय १४ ट्राफिक प्रहरीमार्फत ट्राफिक व्यवस्थापन हुँदै आएको छ । दरबन्दी भने एक हजार एक सय १३ जनाको रहेको प्रवक्ता भट्टले बताए । पछिल्लो समय काठमाण्डौं उपत्यकासहित देशभर सार्वजनिक तथा निजी सवारीसाधनको सङ्ख्या उल्लेख्यरुपमा बढ्दै गएको छ । हाल बागमती प्रदेशभित्र १८ लाख ३५ हजार एक सय ८१ सवारीसाधन दर्ता छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।