समयमा काम नसक्ने २३ कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन


समयमै काम नसक्ने तथा आपूर्ति नगर्ने २३ वटा कम्पनीलाई ७ दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।

पटक पटक कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण पेस गर्न आग्रह गर्दा पनि अटेर गर्ने २३ कम्पनीलाई थप ७ दिनको म्याद दिइएको हो ।

कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सो अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको म्याद दिएर स्पष्टीकरण मागिएको हो ।

कालोसूचीमा सिफारिस हुनेमा भरत थापा र दिनेश पौडेलको नेतृत्वमा रहेको सिरुवा कन्ट्रक्सन प्रा.लि रहेको छ । सिरुवा कन्ट्रक्सन काठमाण्डौं तीनकुनेमा रहेको छ । यस्तै मुकुन्द प्रसाद गौतम खहरेखोला इन्टरप्राइजेज रहेको छ । जुन कागेश्वरी मनोहरामा छ ।

यस्तै दोलखामा रहेको पुतलीकाठ निर्माण सेवा प्रा.लिलाई पनि ७ दिनको समय दिइएको छ । पुतलीकाठ निर्माण सेवाको सञ्चालक मोहन बहादुर तामाङ रहेका छन् ।

यस्तै लामा बुद्ध निर्माण तथा सामाग्री सप्लायर्स, एक्सन बिल्डर्स प्रा.लि., कमलादी नागार्जुन–शंकरमाली जे.भी लगायत २३ कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरिएको हो । ७ दिनभित्र लिखित स्पष्टीकरण नआए कालोसूचीमा राखिने सार्वजनिक कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।