सिग्नेचर, म्याकड्वेयल्स लगायतका मदिरा उत्पादक नेपाल लिक्वेर्सको वार्षिक आम्दानी साढे १ अर्ब


सिग्नेचर, रोयल च्यालेन्ज, म्याकड्वेयल्स, एन्टीक्युटी, ब्लु रिबाइन्ड लगायतका ह्वीस्की तथा जीनको उत्पादन तथा वितरण गर्दै आएको नेपाल लिक्वेर्स प्रालिले सन् २०२२ मा १ अर्ब ५२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा १ अर्ब ५० करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२२ मा २४ करोडले बढेको हो । आम्दानीमा झिनो सुधार देखिएता पनि कम्पनीको अन्य वित्तीय सूचकांक भने खस्किएको छ । सन् २०२१ मा ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र भाडा सहित कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको १६.२६ प्रतिशत थियो भने सन् २०२२ मा यस्तो नाफा २.९८ प्रतिशत विन्दुले घटेर १३.२८ प्रतिशतमा झरेको छ ।

सन् १९८२ मा स्थापना भएको नेपाल लिक्वेर्स बेलायती बहुराष्ट्रिय कम्पनी डिएगो पिएल्सीको फ्रेन्चाइज् हो । नेपालमा स्कच, ह्वीस्कीको उत्पादनलाई नयाँ आयाममा पु¥याउन सफल कम्पनीले विगत चार दशकदेखि नेपाली बजारमा लक्जरी ह्वीस्कीको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

नेपालको पहिलो मदिरा कम्पनीका रुपमा स्थापना भएको नेपाल लिक्वेर्सको नेतृत्व राजेशबिर सिंङ तुलाधरले गर्दै आएका छन् भने कोमल प्रसाद शर्मा कम्पनीका प्रबन्ध निर्देशक हुन् ।

कम्पनीले १ अर्ब ७७ करोड ७८ लाख ४० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ९१ करोड ६१ लाख ४० हजार बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले डबल बी माइन्स रेटिङ दिएको छ भने ८६ करोड १७ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए ४ रेटिङ प्रदान गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.४१ गुणा रहेको छ यस्तो क्षमता सन् २०२१ मा २.४२ गुणा थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।