सरकारले ट्रेजरी बिलमार्फत साढे २७ अर्ब आन्तरिक ऋण उठाउँदै

0
Shares

सरकारले ट्रेजरी बिलमार्फत साढे २७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि राष्ट्र बैंकले आज ट्रेजरी बिलको बोलकबोल खुला गरेको छ ।

नेपाल राष्ट्र बैंकले असार २५ गते सोमबार ट्रेजरी बिल मार्फत २७ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । आज बोलकबोल हुने ट्रेजरी बिल मंगलबार जारी गरिनेछ ।

राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ६० रुपैयाँ गरी कुल २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी साउन २३ गते, ९१ दिन अवधिको ट्रेजरी असोज २३ गते, १८२ दिन अवधिको पुस २४ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ असार २६ गते परिपक्व हुनेछ ।

यसअघि राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ गरी कुल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

पछिल्लो पटकको बोलकबोलमा ७.०४ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ७.१४ प्रतिशत र सबैभन्दा कम ३.९८ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । त्यसमध्ये अधिकांश आन्तरिक ऋण उठाइसकेको छ भने निकै कम मात्र उठाउन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।