डिजिटल वालेट आईएमई पे, खल्ती र प्रभु पे पनि नेपाल पेमा आवद्ध

0
Shares

नेपालका डिजिटल वालेट आईएमई पे, खल्ती र प्रभु पे नेपाल पेमा आवद्ध भएका छन् । यससँगै ग्राहकहरुले यी वालेटहरु प्रयोग गरी नेपाल पे क्युआरको मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे (खल्ती) का प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपेका अपरेसन्स तथा फाइनान्स हेड, रवि सिग्देल लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधिको उपस्थितिमा संयुक्त रुपमा यी सेवाहरू सार्वजनिक भएको घोषणा गरिएको हो ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल(क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे मा इस्युङ्गि एप, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

नेपाल पे क्युआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले क्युआर मर्चेन्ट इनरोलमेन्ट सेवा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरूबाट नेपालपे क्युआरस्क्यान गरी भुक्तानी गर्न सकिन्छ भने अन्य संस्थाहरु पनि थपिने क्रममा छन् । आईएमई पे, खल्ती र प्रभु पे का क्रमशः ४० लाख, ३७ लाख र ९ लाख प्रयोगकर्ताहरु रहेका छन् ।

नेपालपेको नेटवर्कमा ३ लाख ५० हजार क्युआर मर्चेन्टहरु छन् र हालै स्मार्ट क्युआरसंगको अन्तरआवद्धता पश्चात अब ६ लाखभन्दा बढि मर्चेन्टहरुको पहुँच हुनेछ । मर्चेन्टहरुको बिलिङ्ग प्रणाली वा पीओइस डिभाइस वा इकर्मस पोर्टलको पेमेन्ट गेटवेमा, फिजिकल वा डाइनामिकको रुपमा उक्त नेपाल पे क्युआर उपलब्ध रहेका छन् ।

आईएमई पे, खल्ती र प्रभुपे नेपाल पेसँगको यस साझेदारीले ग्राहकहरुलाई क्युआर सम्बन्धी भुक्तानीहरु गर्न थप सहज हुने विश्वास गरिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।