प्रिमियर स्टीलको आम्दानीमा गिरावट, ४ अर्बका लागि रेटिङ


शारडा र राठी ग्रुपको संयुक्त लगानीमा सञ्चालन भइरहेको प्रिमियर स्टील उद्योगले ३ अर्ब ९८ करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ ।

यस अघि ३ अर्ब ५५ करोडको कर्जा रेटिङपछि प्रिमियर स्टील प्रालि सम्पर्कमा नआउँदा रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इस्सुअर नट कोअपरेटिङ’को सूचीमा सुचीकृत गरेको थियो । कम्पनीले आफ्नो वित्तीय विवरण बुझाएपछि इक्राले १ अर्ब २३ करोड बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र २ अर्ब ७५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए ४ रेटिङ पुनः पुष्टि गरेको छ ।

सन् २०२२ मा कम्पनीले ५ अर्ब ८६ करोड १० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानी ३२ करोड २० लाखले घटेको हो ।

सञ्चालन आम्दानीमा आएको गिरावटसँगै कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र कर अघिको आम्दानीमा पनि गिरावट आएको छ । सन् २०२१ मा कुल सञ्चालन आम्दानीको ६.१ प्रतिशत रहेको उक्त आम्दानी सन् २०२२ मा ५ प्रतिशतमा खुम्चिएको हो ।

पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा समेत ह्रास आएको छ । सन् २०२१ मा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ३.५ गुणा थियो भने सन् २०२२ मा उक्त क्षमता कुल कर्जाको २ गुणामा सिमीत भएको छ ।

सन् २०१६ मा स्थापना भएको प्रिमियर स्टील प्रालि स्टील उत्पादक कम्पनीमा नवप्रवेसी कम्पनी हो । यस कम्पनीको प्लान्ट सुनसरी जिल्लाको दुहाबीमा रहेको छ । कम्पनीले एफई ५०० र एफई ५०० टीएमटी छड तथा वायरको उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादन क्षमता प्रति वर्ष २ लाख ४० हजार मेट्रिक टन छ ।

सन् २०२३ को फेब्रुअरी महिनामा कम्पनीले बिलेट उत्पादन वृद्धिका लागि १ लाख २० हजार मेट्रिक टन बराबरको उत्पादन क्षमता बढाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।