पचास लाख लगानीमा दलवीरले बेमौसमी तरकारी उत्पादन गर्दै

0
Shares

म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेको छ । समुन्द्री सतहदेखि दुई हजार २०० मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दाखेती गरेको जनाए ।

“बेमौसममा खेती गर्न सकिने जातको बन्दा परीक्षणका लागि भित्र्याएको हो”, उनले भने, “वैशाखमा लगाएको बिरुवा हुर्किएर बन्दाको आकार लिएको छ । साउन पहिलो हप्तादेखि बजार पठाउने तयारीमा छु ।” पानी खप्न सक्ने र चिसो हावापानीमा गर्न सकिने ग्रिन क्रोनेट जातको बेमौसमी बन्दा खेतीले पुनको फार्म हराभरा भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले जिल्लामा पहिलो पटक बर्खायाममा बन्दा उत्पादन भएको बताए । “बन्दा हिउँदे तरकारी बाली हो, अहिले बर्खामा पनि खेती गर्न सकिने जातको विकास भएको छ”, उनले भने, “बेमौसममा उत्पादन भएको बन्दाले बजार र मूल्य राम्रो पाउँछ ।”

तीन वर्षदेखि टमाटरखेती गर्दै आएका पुनले यस वर्ष बेमौसमी बन्दाखेती उत्पादन गरेको हो । उनको फार्ममा हाल पाँच वटा सेमी हाइटेक टनेलमा टमाटर उत्पादन भएको छ । खुला टनेलमा हावाहुरी र असिनाले क्षति गरेपछि कृषि ज्ञान केन्द्रको सहयोगमा सेमी हाइटेक टनेल बनाएको पुनले बताए ।

पुन विसं २०५७ देखि २०६८ सम्म तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा जनमुक्ति सेनाका रुपमा सहभागी हुनुभएको थियो । नेकपा ९माओवादी केन्द्र०को वडा कमिटी अध्यक्ष रहेका पुन दहवन शिविरबाट स्वेच्छिक अवकाश लिएपछि करिब पाँच वर्ष रोल्पामै व्यापार, व्यवसाय गरेको थियो । सात वर्षअघि घर फर्किएर २१ रोपनी जग्गा किनेर कृषि फार्म स्थापना गरेको थियो ।

बाख्रापालनबाट फार्म सुरु गरेका पुन तीन वर्षयता टमाटर र बेमौसमी तरकारी खेतीमा केन्द्रित भएको छ । फार्ममा हालसम्म ५० लाख रुपैयाँ लगानी भएको पुनले बताए । “कृषिमार्फत नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोचेर विदेश जान छाडेर यही खेती गरेर बसेको हुँ”, उनले भने, “आम्दानीबाट सन्तुष्ट छु । फार्मको पूर्वाधारमा लगानी विस्तार गरेको छु ।” दुई जना छोराछोरीलाई बेनीमा निजी विद्यालयमा पढाएको छ ।

बिहान झिसमिसेदेखि साँझसम्म फार्ममा काम गर्ने पुनले आवश्यकताअनुसार स्थानीय मजदुरलाई ज्यालामा काम गराउँदै आएको छ । मसलेदार फल टिम्मुर पनि खेती गरेका पुनको जडीबुटी खेती गर्ने योजना बनाएको छ ।

सिँचाइ सुविधा र चिसो हावापानी भएकाले तरकारी खेती प्रभावकारी भएको छ । सडक पुगे पनि यातायातको असुविधाका कारण ढुवानीमा धेरै खर्च हुने, बजारमा व्यापारीले भनेको मूल्यमा सामान बेच्नुपर्दा समस्या भएको पुनले बताए । बेनी, बागलुङमा खपत नभएको तरकारी पोखरा पठाउने गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत तरकारीको बजारी गरेको पुनले बताए । – रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।