राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निजी क्षेत्रलाई देशको नीतिले संरक्षण गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारीहरुसँग बिहीबार भएकाे भेटमा उनले अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र बलियो बन्नुपर्नेमा जोड दिँदै योजना बनाउनेदेखि कार्यान्वयन तहसम्म निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।
सभापति लामिछानेसँगकाे भेटमा नेपाल उद्योग परिसंघ (सीएनआई) ले छिमेकी मुलुक भारतसँग दश वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको विदूत खरिद सम्झौता (पीपीए) खुला गरिनुपर्ने बताएकाे छ । लामिछानेलाई भेट्न पुगेको नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा पूर्वाधार विकास गरिनुपर्ने, सूचना प्रविधि, सीप विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् । सीएनआईका नवनिर्वाचित अध्यक्ष अग्रवालले सबै राजनीतिक दलहरुले अर्थतन्त्रलाई मुख्य प्राथमकितामा राख्नुपर्ने बताएका थियाे ।
रास्वपा सभापति लामिछानेसँगको अर्थतन्त्रका विषयमा भएको छलफलमा अर्थतन्त्र अप्ठ्यारो स्थितीमा रहेकाले बजारलाई चलायमान गराउने नीतिको आवश्यकता औंल्याए । सो अवसरमा उनले सबै दलहरुले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी बजेट कार्यान्वयन गराउनुपर्नेमा जोड दिए । बजेटको प्रभावकारी कार्यान्वयनका रचनात्मक सहयोग गर्ने उद्देश्यले निजी क्षेत्रको तर्फबाट परिसंघले सुरु गरेको बजेट वाचका विषयमा जानकारी समेत दिएका थिए ।
.jpg)
अध्यक्ष अग्रवालले भूतप्रभावी हुने गरी कर लगाउँदा स्वदेशी एवं विदेशी लगानीकर्ताबीच नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए । उनले उद्योगी व्यवसायीलाई उधारो उठाउन सहजिकरण गर्न उधारो उठाउने ऐन, साथै अग्रिम जमानत कानूनको आवश्यकताका विषयमा जानकारी गराएका थिए ।
भेटमा सरकार, राजनीतिक दलहरुले गर्नुपर्ने काम परिसंघले सुरु गरेको भन्दै बजेट कार्यान्वयन मार्गचित्र ‘बजेट वाच’ का लागि सभापति लामिछानेले धन्यवाद दिएका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
