नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासंग आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन् ।
“दुई मुलकबीचको कुटनीतिक सम्वन्ध ५० वर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारी मार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ ।” दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष मल्लले भने, “हवाई सञ्जाल विस्तार गरेर दुबै देशमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ, कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ ।”
उनले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत पार्कसँग आग्रह गरे । भारत, बंगलादेश जस्ता देशमा नेपालको विद्युतको उच्च माग रहेको भन्दै उनले लगानी प्रतिफलको सुनिश्चितता समेत गरे ।
अध्यक्ष मल्लले घरेलु, हस्तकला लगायत साना र मध्यमखाले उद्योगमा लगानी गर्न समेत राजदूत पार्कको ध्यानाकर्षण गराए । सेवा क्षेत्र, पर्यटन, कृषि लगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल १२ अर्ब ८१ करोड रुपैया लगानी गरेको छ । जसबाट १२ हजार भन्दा बढीले रोजगारी पाएका छन् । यस्तै कोरियाबाट यो वर्ष ११ हजार पर्यटक भित्रिएका छन् ।

चेम्बरको स्वागतपछि नवनियुक्त राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसँगको कुटनीतिक र आर्थिक सम्वन्धलाई थप बलियो बनाउने प्रतिवद्धता जनाए ।
“नेपाल र कोरियाको सम्वन्ध आगामी बर्ष ५० औं वर्षमा पुग्दैछ, । नागरिक नागरिकबीचको सम्वन्धलाई अझ दिगो बनाउन मैले भूमिका निर्वाह गर्छु,” उनले भने,“ नेपालमा उत्पादन हुने सबै वस्तुहरु वातावरणमैत्री छ । नेपालमा उत्पादित वस्तुहरु कोरियामा भित्र्याउनका लागि पहल मेरो पहल रहनेछ।”
दुई मुलुकबीच एक अर्कालाई थप चिन्नका लागि ५० औं वर्षगाँठका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम गर्न आफूले पहल गर्ने राजदूत पार्कले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
