झापा इनर्जीले पौने ७ लाख कित्ता आईपीओ निष्कासन गर्ने, सिभिल क्यापिटल बिक्री प्रबन्धक चयन

0
Shares

झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका ६ लाख ६६ हजार ६०० कित्ता सेयर निष्काशन गर्नको लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

झापा इनर्जी पिङ्गलास्थानस्थित कार्यालयमा शुक्रबार कम्पनी र सिभिल क्यापिटल मार्केटबीच एक कार्यक्रमबीच बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केटका निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) ६ करोड ६६ लाख ६० हजार रुपैयाँ रकम बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्नेछ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिने योजना गरेको छ ।

झापा इनर्जीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रीड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको छ । आयोजना कम्पनीको बिकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुजीले दिए । आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्य प्रगति हासिल भएको छ । आयोजना आश्विन २०८० मा सुरु हुने अपेक्षा गरिएको छ ।

निर्माण अवधिको ब्याज सहित कुल परियोजना लागत ७९ करोड ९० लाख रूपैयाँ छ । आयोजना निर्माणका लागि माछापुच्छ्रे बैंक र हिमालयन बैंक (साविक सिभिल बैंक लिमिटेड) को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

साथै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २५ वर्षको लागि प्रतियुनिट ७.३० रुपैयाँमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । टोटल एनुयल कन्ट्र्रयाक्ट इनर्जी १७.६१ गिगाहर्ज रहेको छ । ९६० मिटर ३३ केभीए प्रसारण लाईनबाट सञ्चालनमा रहेको प्राधिकरणको पाँचगाँची (बुलुचोक) सबस्टेसनबाट विद्युत निकालिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।