एचडीएफसी विश्वको सातौं ठूलो बैंक बन्यो, बजार पुँजीकरण १५० अर्ब डलर

0
Shares

भारतीय बैंक-एचडीएफसी बैंकले नयाँ इतिहास कायम गरेको छ । बैंकको बजार पुँजीकरण १५० अर्ब डलर भन्दा धेरै हुँदा बैंक विश्वको सातौं ठूलो बैंक बनेको हो ।

अमेरिकाको जेपीमोर्गन चेस, बैंक अफ अमेरिका, चीनको आइसीबीसी बैंक, एग्रिकल्चर बैंक अफ चाइना, अमेरिकाकै वेल्स फार्गो बैंक र बेलायतको एभएसबीसी बैंकपछि भारतीय बैंक एचडीएफसी सातौं स्थानमा उक्लेको हो । यसअघि एचडीएफसीसँगको मर्जरपछि बैंक विश्वकै दशौं ठूलो बैंकको रुपमा स्थापित बनेको थियो ।

हाल जेपी मोर्गन चेस बैंकको बजार पुँजीकरण ४३८ अर्ब डलर रहेको छ भने बैंक अफ अमेरिकाको २३२, आइसीबीसी बैंकको २२४ अर्ब डलर, एग्रीकल्चर बैंक अफ चाइनाको १७१ अर्ब, वेल्स फार्गोको १६३ अर्ब डलर, एचएसबीसीको १६० अर्ब डलर र एचडीएफसी बैंकको बजार पुँजीकरण १५१ अर्ब डलर रहेको छ । मोर्गन स्टान्ली, जेपी मोर्गन लगायतका बैंकहरुलाई पछि पार्दै एचडीएफसी बैंक १५० अर्ब डलर बढी पुँजीकरण भएका कम्पनीहरुको सूचीमा प्रवेश गरेको हो ।

४० अर्ब डलरको रिभर्स मर्जर सम्झौतापछि बैंकले माउ कम्पनी हाउजिङ्ग डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (एचडीएफसी) लिमिटेडका सेयरधनीहरूलाई जारी गरेको एचडीएफसी बैंकको नयाँ सेयरको सूचीकरणसँगै एचडीएफसी बैंक भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक बनेको हो ।

बैंकको आम्दानी वार्षिक रुपमा १८ प्रतिशतले बढेको र बैंकले आफ्ना लगानीकर्ताहरुलाई १५ प्रतिशत बराबरको प्रतिफल (रिटन अन इक्वीटी) प्रदान गर्दै आएको छ । जसले ग्लोबल बैंकिङ क्षेत्रमा बैंकको स्थान बलियो बनाएको विश्लेषक प्रखर शर्मा र बिनायक अग्रवालले बताए ।

जुलाई १ तारिखमा भएको रिभर्स मर्चरपछि एचडीएफसी लिमिटेड एचडीएफसी बैंकमा मर्जर भएको छ । सोमबार एकीकृत सेयर कारोबार सञ्चालनपछि एचडीएफसी बैंकको पुँजीकरण १ खर्ब ५१ अर्ब डलर पुगेको हो । ४० अर्ब डलरको रिभर्स मर्जरपछि बैंकले भारु १ रुपैयाँ अंकित मूल्यमा ३ अर्ब ११ करोड ३ लाख ९६ हजार कित्ता नयाँ सेयर जारी गरेको थियो ।

रिभर्स मर्जरपछि एचएफडिसी बैंकको २५ कित्ता होल्ड गरेका सेयरधनीहरुले एचडीएफसीको ४२ कित्ता सेयर पाएका छन् । यससँगै बैंकको चुक्ता पुँजी ५ अर्ब ५९ करोड १७ लाख ९८ हजार कित्तादेखि बढेर ७ अर्ब ५३ करोड ७५ लाख ६९ हजार कित्ता पुगेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।