पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण थालियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण थालियो

कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको आज शिलान्यास गरेका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ हवाई डिपो निर्माण गर्न लागिएको हो । हवाई इन्धन डिपो पोखराका प्रमुख धिरजविक्रम खड्काका अनुसार यहाँ १२ लाख लिटर क्षमताका तीनवटा डिपो निर्माण गरिनेछन् ।

डिपो निर्माणका लागि ७७ करोड खर्च हुने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । उक्त आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले पाएको छ ।

“एक हजार दुई सय किलोलिटर क्षमताका तीन र एक हजार पाँच सय किलोलिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिनेछन्”, उनले भने, “नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा भाडामा लिएर डिपो निर्माण थालिएको हो ।” नायव कार्यकारी निर्देशक साहका अनुसार डिपो एक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ साउन २०८०, सोमबार १८ : २४ बजे