सिभिल लघुवित्तको अब नेप्सेमा हिमालयन लघुवित्तको नाममा कारोबार हुने, ११% बोनस सूचीकृत

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड अब नेप्सेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुने भएको छ । कम्पनीले आफ्नो नाम परिवर्तन गर्दै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुने जनाएको छ ।

कम्पनीको सेयर सिएलबिएसएल (CLBSL) कारोबार संकेतमा खरिद बिक्री हुँदै आएकोमा अब हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड भएसँगै एचएलबिएसएल (HLBSL) मा खरिद बिक्रीमा आउनेछ । यस्तै संस्थापक सेयर भने एचएलबिएसएलपी (HLBSLP) मा कारोबारमा आउनेछ ।

कम्पनीको नाम परिवर्तनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८० असार २१ गते स्वीकृति प्राप्त भएको थियो । कम्पनीको नाम परिवर्तन सम्बन्धी प्रस्ताव २०७९ फागुन २९ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले पारित गरेको थियो ।

साविक सिभिल लघुवित्तको नाममा रहेको सम्पूर्ण चलरअचल सम्पत्ति तथा तिर्नु र व्यहोर्नुपर्ने कर, दायित्व आदि समेत परिवर्तित नाम हिमालयन लघुवित्तको कम्पनीले सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति प्रदान गरेको हो ।

हिमालयन बैंक लिमिटेड र सिभिल बैंकबीच मर्जर भएपछि सिभिल बैंकको सहायक कम्पनीको रूपमा रहेको सिभिल लघुवित्तको नाम पनि हिमालयन बैंकसँग मिल्नेगरी परिवर्तन गरिएको हो । हिमालयन लघुवित्तको राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको छ ।

तीन लाख १६ हजार कित्ता बोनस सेयर सूचीकृत

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (साबिक सिभिल लघुवित्त) को ३ लाख १६ हजार ९३६ दशमलव ८८५८ कित्ता बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट पारित गरेको चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने बोनस सेयर बिहीबार सूचीकृत गराएको हो । लघुवित्तको २०७९ फागुन २९ गते सम्पन्न भएको साधारण सभाले चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार ४४१ रुपैयाँको ११ प्रतिशतले हुन आउने ३ करोड १६ लाख ९३ हजार ६८८ रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

लाभांश तथा सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते बुकक्लोज गरेकाले फागुन १३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्रै बोनस पाउनेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।