वित्तीय प्रणालीको निक्षेप एक खर्ब ९ अर्बले घटेपछि अन्तर बैंक दर १२ गुणाले बढ्यो

0
Shares

बैंक तथा वित्तीय संस्थाको निक्षेप अस्वभाविक रुपमा घटेको छ । चालु आर्थिक वर्षको दुई दिनमा वित्तीय प्रणालीको निक्षेप एक खर्ब ९ अर्बले घटेको हो ।

चालु आर्थिक वर्षको १ र २ गते अर्थात सोमबार र मंगलबार मात्रै बैंक तथा वित्तीय संस्थाबाट १०९ अर्ब निक्षेप घट्दा त्यसको प्रत्यक्ष असर अन्तर बैंक दरमा देखिएको छ । साउन १ गते बैंकिङ प्रणालीको निक्षेप २४ अर्बले घट्दा ०.४४ प्रतिशतमा रहेको अन्तर बैंक दर बढेर ०.५३ प्रतिशतमा पुगेको थियो । साउन २ गते मात्रै ८४ अर्ब निक्षेप घटेको छ । बैंक तथा वित्तीय संस्थाबाट ८४ अर्ब निक्षेप घट्दा अन्तर बैंक दर १२ गुणा भन्दा धेरैले बढेर ६.५१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसंगै सरकार तथा केन्द्रीय बैंकले निक्षेप गणनामा दिदै आएको सहुलियतको अवधि समाप्त भएको छ । त्यसले गर्दा पनि बैंकहरुको निक्षेप घटेको हो । सरकारले बैंकहरुमा रहेको स्थानिय तहको सञ्चित पैसालाई ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न सक्ने सुविधा दिएको थियो । सरकारले तरलता अभावलाई सहज होस भन्दै गत असार मसान्तसम्ममा दिएको यस्तो सुविधा चालु आर्थिक वर्षका सुरु भएसंगै सकिएको छ ।

साथै सरकारले चालु आवका लागि त्यो सुविधालाई निरन्तरता दिएन । त्यसले गर्दा बैंक वित्तीय संस्थाबाट एक खर्ब ९ अर्ब निक्षेप बाहिरीएको अवस्था हो । त्यसैगरी बैंकहरुले ऋणपत्र जारी गरी संकलन गरेको पैसालाई पनि निक्षेपमा गणना गर्न दिने व्यवस्था गएको असार मसान्तदेखि सकिएको छ । त्यसले पनि बैंकिङ क्षेत्रको केही निक्षेप घटाएको हो । केन्द्रीय बैंकले बैंकहरुलाइ २०७८ भदौ भन्दा अघि जारी भएका ऋणपत्रलाई २०८० असारसम्ममा निक्षेपमा गणना गर्न पाइने व्यवस्था गरेको थियो ।

बैंकहरुमा स्रोत व्यवस्थापनका लागि दिइएका दुबै सुविधा चालु आर्थिक वर्षका लागि निरन्तरता भएका छैनन । त्यसले गर्दा बैंकहरुमा देखिएको निक्षेपमा कमी आउने क्रम साउन १ गते सोमबार देखि नै सुरु भएको छ । सोही अनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात पनि बढ्न थालेको छ । हाल बैंकहरुको औसत कर्जा निक्षेप अनुपात समेत बढेर ८२.९९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको असार अन्तिममा ८१ प्रतिशतको हाराहारीमा थियो ।

चालु आर्थिक वर्ष २०८०/०८१ सुरु भएको २ दिनमा १०९ अर्बले घटेर कुल निक्षेप ५६ अर्ब ५८ अर्बमा झरेको छ । आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ६७ अर्ब रहेको थियो । चालु आर्थिक वर्ष सुरु भएपछि बैंक वित्तीय संस्थाको  कर्जा लगानी १२ अर्बले घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंक वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ७९ अर्ब रहेकोमा चालु आवमा दुई दिनमा १२ अर्बले घटेर ४८ खर्ब ६७ अर्बमा झरेको हो । 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।