एक वर्षको व्यापार घाटा साढे १४ खर्ब, आयात निर्यात दुवै घट्यो

0
Shares

गत आर्थिक वर्ष २०७९/८० मा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड नाघेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको नेपालको व्यापार घाटा १५.४५ प्रतिशतले घटेको हो ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १२ महिनामा मुलुकले कूल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा एक खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको हो ।

विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक व्यापारको आँकडा घटेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा आयात १६.८, निर्यात २१.४४ र कूल व्यापार १६ दशमलव ५८ प्रतिशतले घटेको छ । कूल वैदेशिक व्यापार घटेसँगै गत वर्षको तुलनामा व्याघार घाटा पनि घटेको हो । गत आवमा नेपालले कुल १७ खर्ब ६८ अर्ब ८७ करोड बढीको व्यापार गरेको छ ।

यो अवधिमा मुलुकले कूल निर्यातको तुलनामा १० दशमलव ६२ गुणा धेरै आयात गरेको छ । त्यस्तै, कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १२ प्रतिशत र निर्यातको हिस्सा ८.८८ प्रतिशत रहेको छ ।

नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा ९ खर्ब २१ अर्ब १६ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । असार मसान्तसम्ममा भारतबाट १० खर्ब २७ अर्ब ८४ करोड रुपैयाँको सामान आयात हुँदा १ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिन्छ।

त्यस्तै, चीनबाट २ खर्ब २२ अर्ब ७१ करोड रुपैयाँको वस्तु आयात हुँदा १ अर्ब ७६ करोड रुपैयाँको मात्र निर्यात भएको छ । जसकारण चीनसँगको व्यापारघाटा २ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बराबर छ । नेपालले धेरै व्यापार घाटा व्यहोरेका मुलुकहरूमा इन्डोनेसियासँग ४१ अर्ब १३ करोड रुपैयाँ, संयुक्त अरब इमिरेट्ससँग ३१ अर्ब १३ करोड रुपैयाँ र अर्जेन्टिनासँग २४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

नेपालले धेरै व्यापार नाफा गरेका मुलुकमा डेनमार्क, अमेरिका, नर्वे, अल्जेरिया, कम्बोडिया, नाइजर उरुग्वेलगायत छन् । गत आर्थिक वर्षको असार मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था हेर्दा नेपालले डेनमार्कसँग ५१ करोड २० लाख रुपैयाँ, अमेरिकासँग १४ करोड ६५ लाख, नर्वेसँग ९ करोड ७२ लाख रुपैयाँ र अल्जेरियासँग ७ करोड २५ लाख रुपैयाँ व्यापार नाफा गरेको छ ।

असार मसान्तसम्ममा नेपालले सबैभन्दा बढी आयात गरेका वस्तु हेर्दा एक खर्ब ५३ अर्ब ७६ करोड रुपैयाँको डिजेल, ६६ अर्ब ८४ करोड रुपैयाँको पेट्रोल र ५८ अर्ब १५ करोड रुपैयाँकोे एलपी ग्यास रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।