व्यापारमा मन्दी खेपेको घोराही सिमेन्टले आम्दानीको ३ गुणा ऋण लिँदै

0
Shares

व्यापारिक घराना त्रिवेणी ग्रुपको मुख्य लगानी रहेको घोराही सिमेन्ट इन्डष्ट्रिजले आफ्नो वार्षिक व्यापारको २.८४ गुणा बढी कर्जा लिने भएको छ ।

कुल १० अर्ब ३९ करोड ऋणका लागि कम्पनीले रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपाल मार्फत कर्जा रेटिङ गराएको हो । कम्पनीको वित्तीय विवरण अनुसार चालु आवको ६ महिनामा कम्पनीले १ अर्ब ८३ करोड २० लाख सञ्चालन आम्दानी गरेको छ । ६ महिनाको तथ्यांकलाई आधार मान्दा कम्पनीले वार्षिक रुपमा ३ अर्ब ६६ करोड ४० लाख सञ्चालन आम्दानी हुने देखिन्छ । कमपनीले लिन खाजेको कर्जा कुल सञ्चालन आम्दानीको तुलनामा करीब ३ गुणा बढी हो ।

कम्पनीले हालैमात्र अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ४३५ रुपैयाँका दरले ७९ लाख ४३ हजार ८०१ कित्ता आइपीओ जारी गरेको थियो । सो मध्ये आयोजना प्रभावित वासिन्दालाई ३५ रुपैयाँ कम मूल्यमा ७७ हजार २९० कित्ता बाँडफाँड गरेको थियो । आइपीओ बिक्रीबाट २ अर्ब ६५ करोड ८४ लाख प्रिमियम सहित कम्पनीले कुल ३ अर्ब ४५ करोड २८ लाख रकम संकलन गरेको थियो ।

गत वर्षको तुलनामा कम्पनीको सञ्चालन आम्दानी चालु आवमा घटेको छ । गत आवमा ५ अर्ब ४ करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले चालु आवको ६ महिनामा १ अर्ब ८३ करोड २० लाख सञ्चालन आम्दानी गरेको छ । चालु आवको ६ महिनाको आम्दानीलाई आधार मान्दा कम्पनीको आम्दानी २७.३३ प्रतिशतले घटेको देखिन्छ ।

कम्पनीको आम्दानीमा गिरावट आएता पनि कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर सहितको नाफा बढेको छ । गत चाल्ु आवमा कुल सञ्चालन आम्दानीको १९.५२ प्रतिशत रहेको सो नाफा चालु आवमा बढेर २१.२५ प्रतिशत पुगेको हो ।

सन् २००७ मा स्थापना भएको कम्पनीको उत्पादन प्लान्ट दाङमा अवस्थित छ । कम्पनीले क्लिंकर र ओपिसी, पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । सगरमाथा, गोर्खा र विश्वकर्मा ब्रान्डनामबाट कम्पनीले सिमेन्टको बिक्री वितरण गर्दै आएको छ । कम्पनीको क्लिंकर उत्पादन क्षमता प्रति वर्ष ८ लाख ४० हजार मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता प्रति वर्ष ६ लाख २० हजार मेट्रिक टन रहेको छ ।

कम्पनीले क्लिंकर उत्पादन क्षमता ९ लाख ५७ हजार मेट्रिक टन र ग्राइन्डिङ क्षमता ४ लाख २० हजार मेट्रिक टनले वृद्धि गर्नका लागि कर्जा लिएको कम्पनीले जनाएको छ ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ८ अर्ब ३ करोड ७५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी र २ अर्ब ३५ करोड २४ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए३ प्लस रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको १.६२ गुणा रहेको छ । कम्पनीमा त्रिवेणी ग्रुपका साथै विशाल ग्रुपको लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।