ज्योति विकास बैंकको १५ औं वार्षिकोत्सवः गुणस्तरीय बैंकिङ्ग सेवा र उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता

0
Shares

ज्योति विकास बैंकले साउन ९ गते मंगलबारको दिन स्थापनाको १५ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । उनले बैंकको १५ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने ग्राहकवर्ग, सेयरधनीहरू, नियामक निकायहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गरे । साथै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न अध्यक्ष खड्काले आह्वान गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे । उनले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरु, पूर्व अध्यक्षहरु, कर्मचारी, सेयरधनी र ग्राहक वर्गहरुलाई आभार व्यक्त गरे । साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा सेयरधनी ध्रुव कुमार उप्रेती र संस्थापक सेयरधनी तथा भुतपूर्व अध्यक्ष प्रचारमान सिंह प्रधानले बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा उपस्थित राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले बैंकले केन्द्रको न्यानो नानी परियोजनामा गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गरे । आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्यलाई निरन्तरता दिन उनले अनुरोध गरे । कार्यक्रममा बैंकमा १० वर्ष तथा १५ वर्ष देखि अनवरत रूपमा कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । अध्यक्ष खड्का तथा प्रमुख कार्यकारी अधिकृत भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदर–पत्र प्रदान गरेका छन् ।

१५ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु समेत आयोजना गरेको छ । रक्तदान, वातावरण सरसफाई सम्बन्धि कार्यक्रम, वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । साथै, बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकवर्ग र कर्मचारीहरुका लागि निःशुल्क मेहेन्दी कार्यक्रम पनि आयोजना गरेको थियो ।

बैंक आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको छ । यो विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैब प्रतिबद्ध रहेको छ ।

नख्खु शाखाको औपचारिक उद्घाटन

बैंकले वार्षिकोत्सवको दिन नख्खुस्थित आफ्नो १२१ औं शाखाको पनि औपचारिक उद्घाटन समेत गरेको छ । अध्यक्ष खड्काले डिजिटल प्रविधिमार्फत ताम्रपत्र अनावरण गरी शाखाको समुद्घाटन गरेका हुन् । सोही क्रममा उपस्थित सबैलाई नख्खु शाखाको डिजिटल माध्यमबाट भर्चुअल टूर गराइएको थियो । नख्खु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको छ ।

“सुपर स्मार्ट सेभिङ्ग अकाउन्टस्” सार्वजनिक

बैंकले वार्षिकोत्सवको अवसरमा “सुपर स्मार्ट सेभिङ्ग अकाउन्टस्” सार्वजनिक गरेको छ । यस खातामा बैंकले १५ रुपैयाँमा अतुलनीय विशेषता सहितको सेवा दिने बताएको छ । ग्राहकवर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी उक्त खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

साथै यहि अवसरमा साउन १४ गतेसम्म ज्योति विकास बैंकको खाता इसेवामा लिङ्क गर्ने सम्पूर्ण ग्राहकहरुलाई १५० बोनस तथा खल्ती एपसँग पहिलो पटक ज्योति विकास बैंकको खाता लिङ्क गर्ने ग्राहकलाई १०० रुपैयाँ बोनस प्राप्त हुने व्यवस्था मिलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।