बैंकहरुको कर्जा लगानी योग्य रकम साढे ३ खर्ब, नियामकीय सीमाले कर्जा विस्तार नहुने जोखिम

0
Shares

चालु आर्थिक वर्षको सुरुवातीमा वाणिज्य बैंकहरुसंग कर्जा लगानी योग्य रकम साढे ३ अर्ब छ । चालु आर्थिक वर्ष सुरु भएको नौ दिनमा एक खर्ब २७ अर्ब निक्षेप बाहिरीदाँ पनि बैंकहरुले साढे ३ खर्ब कर्जा लगानी गर्ने सक्ने अवस्था रहेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्र तर्फको कर्जा प्रवाहको वृद्धिदर ११.५ प्रतिशतको लक्ष्य लिएको छ । सो अनुसार बैंकहरुले ५ खर्ब ६५ अर्ब कर्जा लगानी गर्नुपर्ने हुन्छ । तर, हालको अवस्थामा बैंकहरुसंग कर्जा लगानी गर्ने योग्य रकम साढे तिन खर्ब रहेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । स्थानिय तहको निक्षेपलाई गाणना नगर्दा पनि बैंकहरुको कर्जा लगानी क्षमता साढे ३ खर्ब रहेको उनको भनाई छ ।

चालु आर्थिक वर्ष सुरु भएसंगै बैंकहरुको निक्षेप घट्ने क्रममा पनि बढेको छ । त्यसका साथै बैंकहरुले ब्याजदरमा गर्दै आएको भद्र सहमती पनि खुला छोडेका छन् । यसले बजार प्रतिस्पर्धि हुने र ब्याजदर घट्ने अपेक्षा गरिएको छ । भद्र सहमती खुला भएसैगै केही बैंकले ब्याजदर बढाएका छन भने केहीले घटाए । औसतमा बैंकहरुको ब्याजदर सामान्य अंकले घटेको छ ।

बैंक वित्तीय संस्थामा उपलब्ध कर्जा लगानी योग्य रकम, घट्दो ब्याजदर तथा सेयर बजार, घरजग्गा र हायर पर्चेज कर्जामा केन्द्रीय बैंकले लिएको लचक नीतिका कारण आगामी दिनमा कर्जाको माग बढ्ने देखिन्छ। कर्जाको माग बढेसंगै बैंकहरुले स्रोतको व्यवस्थापनका लागि पुन ब्याजदर बढाउने प्रतिस्पर्धा गर्ने चुनौति पनि उत्तिकै छ ।

तर, केही बैंकहरुको प्राथमिक पुँजी कोष अनुपात कसिलो अवस्थामा भएकाले थप कर्जा लगानी गर्ने अवस्था छैन । त्यसका साथै केन्द्रीय बैंकले बासेल ३ अनुसार काउन्टर साइक्लीकल बफरको पनि व्यवस्था गर्ने भएको छ । केन्द्रीय बैंकले २०७६ साल साउन देखि लागु गरेको २ प्रतिशत काउन्टर साइक्लीकल बफर क्यापिटलको व्यवस्था कोरोना अवधिका कारण स्थगित गरेको थियो ।

गत आर्थिक वर्षको मौद्रिक नीतिले त्यसलाई चालु आर्थिक वर्ष देखि लागु हुने व्यवस्था गरेको थियो । सो अनुसार केन्द्रीय बैंकले भने कुनै पनि निर्देशन जारी गरीनसकेको हुनाले विगतमा स्थगित भएको काउन्टर साइक्लिकल बफर कति र कहिले देखि लागु हुने भन्ने अन्योल देखिन्छ । यो व्यवस्था पनि लागु भएको खण्डमा करिब आधा दर्जन भन्दा धेरै बैंकहरुले कर्जा लगानी गर्न सक्ने अवस्था हुदैन ।

नियामकीय सीमाका कारण कर्जा लगानी गर्ने अवस्था नभएपनि बैंकहरुले निक्षेपको ब्याजदरमा अस्वभाविक प्रतिस्पर्धा गर्ने अवस्था नरहने एक बैंकरले बताए । त्यसले पनि ब्याजदर घट्ने संकेत गर्छ । यसले कर्जा लगानी गर्न सक्ने अवस्थामा रहेका बैंकहरुका लागि फाइदा पुग्नेछ । ब्याजदर घट्ने भएपनि मौद्रिक नीतिले लिएको लक्ष्य अनुसारको कर्जा लगानी बैंकहरुको कसिलो प्राथमिक पुँजी कोषका कारणले असर पूग्ने सक्ने एक बैंकरले बताए । “काउन्टर साइक्लीकल बफर लागु नभएको खण्डमा केही कर्जा लगानी गर्ने रुम छ” ती बैंकरले भने,“काउन्टर साइक्लीकल बफर लागु हुँदा कर्जा लगानीमा समस्या हुन सक्छ ।”

सरकारले समयमा नै खर्च गर्न बनाएको मार्गदर्शन कार्यान्वयन भएको खण्डमा वित्तीय प्रणालीमा तरलता अभावको समस्या चालु आवमा पर्न सक्ने सम्भावना न्यून छ । तर, तरलता भएपनि नियामकीय सीमाका कारण कर्जा लगानी गर्नबाट केही बैंकहरु बञ्चित भएको खण्डमा ५६५ अर्ब कर्जा लगानी चालु आवमा हुन्छ भन्न सकिने अवस्था छैन । यसको असर समग्र आर्थिक गतिविधिमा पनि पर्न सक्ने जोखिम उत्तिकै रहेको छ ।

बैंकहरुलाई कर्जा लगानी विस्तार गर्नका लागि कर्जा निक्षप अनुपातले भने प्रयाप्त स्पेस दिएको छ । हाल बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ८३.१४ प्रतिशत रहेको छ । त्यसका साथै बैंकहरुको निक्षेप पनि ४९ खर्ब ५७ अर्ब रहेको छ । साथै केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीति मार्फत नीतिगत दर पनि ०.५ प्रतिशत विन्दुले घटाएको छ भने तरलता व्यवस्थापनका लागि नयाँ औजार स्थायी निक्षेप सुविधा पनि ल्याएको छ । त्यसले गर्दा तरलता र ब्याजदरको समस्या समाधान हुने सम्भावना रहे पनि बैंकहरु नै कर्जा लगानीबाट बञ्चित हुनु पर्दा लक्ष्य अनुसारको कर्जा विस्तार नहुने जोखिम बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।