कर्जा तिर्न नसक्दा स्वीस इन्टरनेशनल होटल सरोवरको रेटिङमा गिरावट

0
Shares

पोखराको लेकसाइडमा रहेको स्वीस इन्टरनेशनल होटल सरोवरले लिएको ऋण भुक्तानी गर्ने समयावधिमा तिर्न नसक्दा होटलको रेटिङमा गिरावट आएको छ ।

सन् २०१९ देखि सञ्चालनमा आएको होटलले ६६ करोड १७ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको थियो । यसअघि रेटिङ एजेन्सी इक्रा नेपालले ६४ करोड १७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र २ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको थियो ।

तथापि होटल सञ्चालक कम्पनी–होटल सरोवर प्रालिले सो कर्जा तोकिएको समयमा भुक्तानी गर्न नसक्दा इक्रा नेपालले कर्जा रेटिङमा घटुवा गरेको छ ।

हाल इक्रा नेपालले दीर्घकालीन तथा अल्पकालीन कर्जाको लागि डी रेटिङ गरेर कर्जा पुनःपुष्टि गरेको छ । सन् २०१९को जुन महिना देखि सञ्चालनमा आएको कम्पनीले सन् २०२२ मा ४ करोड ९७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको वित्तीय सूचकांक मध्यम देखिएता पनि लिएको कर्जा समयमा भुक्तानी गर्न नसक्दा इक्रा नेपालले कर्जाको रेटिङ घटाएको छ ।

कम्पनीले स्वीस इन्टरनेशनल होटल सर्भिसको फ्रेन्चाइजका रुपमा पोखरामा चार तारे होटल–स्वीस इन्टरनेशनल होटल सरोवर सञ्चालनमा आएको छ । अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डको फ्रेन्चाइजका रुपमा सञ्चालन हुँदा त्यसले बाह्य पर्यटकमा होटलको राम्रो छवि बन्ने र पर्यटकको आगमन बढेसँगै होटलको आम्दानी बढ्ने देखिन्छ ।

पोखरा पर्यटकीय सहर हुनुका साथै साहसिक खेलकुदका लागि नयाँ गन्तव्यस्थल बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पोखरा पर्ने हुँदा होटल व्यवसायीहरुले मनग्य आम्दानी गरिरहेका छन् । तथापि बढ्दो प्रतिस्पर्धाका कारण होटलहरुको आम्दानीमा असर परिरहेको छ ।

कम्पनीमा भरत राज पहरी र मोहन प्रसाद पहरीको लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।