आन्तरिक राजस्व कार्यालयले रोक्यो ४७ व्यवसायीक फर्मको बैंक खाता

0
Shares

आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो ।

कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी पन्ध्र दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरिसकेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिएका छन् । व्यवसायीको आम्दानीको स्रोत खोजी गरी बक्यौता रकम दाखिला गराउने अभियानमा कार्यालय लागेको बताए ।

उक्त कार्यबाट पनि बक्यौता रकम दाखिला गराउन नसके निजको चलअचल सम्पत्ति रोक्का गर्न सकिने प्रावधान रहेको जानकारी दिँदै राईले सोही अनुरुप बैंक दाता रोक्का गरिएको बताए । उनका अनुसार तनहुँमा २८, लमजुङमा तेह्र र गोरखामा छ व्यवसायी फर्मको रकम बक्यौता रहेको छ ।

दश अर्ब रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन

आर्थिक वर्ष २०७९/८० मा दश अर्ब ८० करोड रुपैयाँ राजश्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ । ११ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुरुप राजस्व सङ्कलन नभएको कार्यालयका कर अधिकृत एवं सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/७९ मा नौ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको उनले बताए । उनका अनुसार उक्त वर्ष नौ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

७२ हजार बढी करदाता

तनहुँमा ७२ हजार चार सय ४७ करदाता रहेका छन् । गत वर्षको तुलनामा करिब १० प्रतिशतका दरले करदाता वृद्वि भएको सूचना अधिकारी पौडेलले जानकारी दिएका छन् । पछिल्ला समय नागरिकमा पान नंम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने सचेतनाको वृद्वि हुँदै गएकाले करदाताको सङ्ख्या बढेको कार्यालयले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।