काब्रा ग्रुपको क्वालिटी आयल रिफाइनरीको आम्दानी १३१% बढ्यो, वार्षिक साढे ६ अर्ब कमाई

0
Shares

काब्रा ग्रुपको लगानी रहेको तेल तथा वनस्पति घिउ उत्पादक कम्पनी–क्वालिटी आयल रिफाइनरी प्रालिले सन् २०२२ मा ६ अर्ब ५० करोड ८० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा २ अर्ब ८० करोड ९० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा १३१.६८ प्रतिशतले बढेको हो ।

भारतमा तेल निर्यात बढाएपछि कम्पनीको आम्दानी आकर्षक शैलीमा बढेको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालन आम्दानी बढेता पनि कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर सहितको नाफामा गिरावट आएको छ । सन् २०२१ मा कुल आम्दानीको ८.३६ प्रतिशत रहेको सो नाफा सन् २०२२ मा घटेर ६.८१ प्रतिशत पुगेको छ ।

सन् २००४ मा स्थापना भएको कम्पनीले तोरीको तेल, सनफलावर आयल, सोयाबिन आयल, पाम आयल, वनस्पत्ति घिउ लगायतका खाद्य पदार्थहरुको बिक्री वितरण गर्दै आएको छ ।

भान्सामा अत्यावश्यक प्रयोगमा आउने तेलको माग दिनानुदिन क्रममा बढ्दै गएको छ । जसकारण कम्पनीको आम्दानी बढ्ने आगामी समयमा बढ्ने देखिन्छ । तथापि नेपाल तेल तथा वनस्पति घिउ उत्पादक कम्पनीहरुको सङ्ख्या बढ्दै गएको छ । जसकारण तेल उत्पादक कम्पनीहरुमा प्रतिस्पर्धा बढ्दै गएको छ ।

यससँगै पछिल्लो समयमा रुस–युक्रेन युद्धका कारण कच्चा पदार्थको मूल्य बढेको छ । कच्चा पदार्थको मूल्य बढ्दै जाँदा कम्पनीको आम्दानीमा प्रभाव पर्ने देखिन्छ ।

कम्पनीले रेटिङ्ग एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेडबाट २ अर्ब ७५ करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई २ अर्ब ६५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए–४ प्लस रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ८.६९ गुणा रहेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक घनश्याम काब्रा रहेका छन् भने बिपिन काब्राले कम्पनीमा निर्देशकको भुमिका निर्वाह गर्दै आएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।