अर्थ मन्त्रालयले लघुवित्त पीडित समितिसँग वार्ता गर्न भुपाल बरालको संयोजकत्वमा समिति गठन गरेको छ ।
मन्त्रालयका प्रवक्ता धनिराम शर्माले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव बरालको संयोजकत्वमा साउन ११ गते बिहीबार वार्ता समिति गठन गरेको जानकारी दिए । समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिइएको छ ।
मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य रहनेछन् । समितिले वार्ताका लागि सहजीकरण गरिदिन गृह मन्त्रालयलाई पत्राचार पनि गरेको छ ।
लघुवित्त संघर्ष समितिको नाममा केही व्यक्तिहरुले संघर्षका कार्यक्रम घोषणा गरेको सन्दर्भमा आन्दोलनरत पक्षले उठाएका लघुवित्त वित्तीय संस्था सम्वन्धी मागका विषयमा छलफल एवं संवाद गरी समाधानका लागि पहल हुनेछ ।
लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन् । लघुवित्तहरुले चर्को ब्याज असुलेको, धितो पनि जथाभावी लिलामी गरेको लगायतका आरोप पीडितहरुले लगाएका छन् ।
नेपाल राष्ट्र बैंकले पनि छुट्टै डेस्क राखेर लघुवित्त पीडितको समस्या समाधानको प्रयास गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
