अधिकांश पुरानै कार्यक्रम समेटेर धितोपत्र बोर्डले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई सुदृढ, गतिशिल तथा प्रभावकारी बनाउन संरचनात्मक सुधार गर्ने तथा लगानीकर्ताको हक हित संरक्षण सुनिश्चित गरी बजारमा साधारण तथा संस्थागत लगानीकर्ताको सहभागिता अभिवृद्धि गर्ने भएको छ ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धितोपत्र बजार तथा नियमनलाई धितोपत्र बजार नियमन निकायहरूको अन्तर्राष्ट्रिय संस्था –आईओएसिओ) को मापदण्ड अनुरूप स्वच्छ, पारदर्शी तथा लगानीकर्तामैत्री बनाई लगानीकर्ताको हक हित संरक्षण सुनिश्चित गरी बजारमा साधारण तथा संस्थागत लगानीकर्ताको सहभागिता अभिबृद्धि गर्ने जनाएको छ ।

यस्तै धितोपत्र सम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकुल सुधार गरी बजारलाई सुदृढ, गतिशिल तथा प्रभावकारी बनाउन संरचनात्मक सुधार गर्ने उल्लेख गरेको छ । बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई सूचना प्रविधिमैत्री बनाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्ने गरी बोर्डको संस्थागत, सुपरीवेक्षकीय एवं नियामकीय क्षमता अभिवृद्धि गर्ने जनाएको छ ।

नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायको प्रवर्द्धन गर्न आवश्यक पुँजी परिचालनका लागि पिईभिसी इकोसिस्टम तथा एसएमईको विकासको सिग्नेचर पोलिसी लिई उद्यमशीलता प्रबर्द्धन तथा विकास मार्फत अर्थतन्त्रमा नयाँ धार सृजना गर्ने नीति लिएको छ ।

साथै वस्तु विनिमय बजार संचालनमा ल्याउने, धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा अनुमतिपत्र प्रदान गर्ने प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित एवं पारदर्शी बनाई तोकिएको मापदण्ड पुरा गरेका संस्थाहरूलाई निश्चित समयावधिभित्र खुला प्रणाली मार्फत अनुमतिपत्र प्रदान गर्ने कार्यक्रम तय गरेको छ।

धितोपत्र बजारमा क्षेत्रगत विविधीकरण ल्याउन व्यवसायिकरूपमा सफल तथा स्थापित उत्पादनमूलक संगठित संस्थाहरूलाई धितोपत्र निष्काशन तथा सूचीकरण गर्न सहजीकरण गरी बजारको विस्तार र क्षेत्रगत सन्तुलन मिलाउने एवं धितोपत्रको दोस्रो बजारमा कारोवार योग्य नयाँ औजारहरू संचालनमा ल्याउन सहजीकरण मार्फत् प्रोत्साहित गरी धितोपत्र औजारहरूमा विविधता ल्याउने जनाएको छ।

धितोपत्र बजारमा क्षेत्रगत विविधीकरण ल्याउन व्यवसायिकरूपमा सफल तथा स्थापित उत्पादनमूलक संगठित संस्थाहरूलाई धितोपत्र निष्काशन तथा सूचीकरण गर्न सहजीकरण गरी बजारको विस्तार र क्षेत्रगत सन्तुलन मिलाउने एवं धितोपत्रको दोस्रो बजारमा कारोवार योग्य नयाँ औजारहरू संचालनमा ल्याउन सहजीकरण मार्फत् प्रोत्साहित गरी धितोपत्र औजारहरूमा विविधता ल्याउने उल्लेख गरेको छ।

पुँजी बजारमा लगानीकर्ताको संख्यामा वृद्धि तथा प्रतिस्पर्धात्मक वातावरणको विकास गर्न एवं गैर आवासीय नेपाली नागरिकहरूको ज्ञान, सीप, पुँजी, प्रविधि र सञ्जाललाई मुलुकको विकास र समृद्धिसँग जोड्ने गरी गैर आवासीय नेपाली नागरिकहरूलाई पुँजी बजारमा सहज प्रवेशका लागि आवश्यक कानुनी तथा संस्थागत पूर्वाधार तयार गर्ने बोर्डको नीति छ ।

यसैगरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्ने, बोर्डको नियमन तथा सुपरीवेक्षकीय कार्यहरू दक्ष एवं प्रभावकारी रूपमा संचालन गर्न आवश्यक जनशक्तिको व्यवस्थापन र कर्मचारीको क्षमता अभिवृद्धि तथा विकास गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरको छ ।