ऋणको सीमा हटेपछि फिचले घटायो अमेरिकाको रेटिङ

0
Shares

ग्लोबल रेटिङ एजेन्सी–फीचले अमेरिकाको रेटिङ ‘ट्रिपल ए’ बाट घटाएर ‘डबल ए प्लस’ प्रदान गरेको छ ।

मे महिनामा अमेरिकी अर्थतन्त्रले सामना गरेको डेब्ट–सिलिङको विषयवस्तुले अमेरिकाको वित्तीय व्यवस्थापनमा प्रश्न खडा गरेको कारण देखाउँदै फिचले अमेरिकाको रेटिङ डाउनग्रेड गरेको हो ।

अमेरिकी वाणिज्य प्रमुख जेनेट एलेनले मे २ तारिखमा राष्ट्रपति निवास ह्वाइट हाउसलाई सम्बोधन गरी ३१.४ ट्रिलियन बराबरको आन्तरिक ऋण सिलिङको सीमा बढाउन वा हटाउन आग्रह गर्दै पत्र पठाएकी थिइन् । उनले ऋणको सिलिङ नबढाएमा अमेरिकाले खर्च जुटाउन नसक्ने र इतिहास मै पहिलोपटक अमेरिका टाट पल्टिने घोषणा गरेकी थिइन् । जेनेटको पत्रले राष्ट्रपति जो बाइडेन र प्रतिपक्ष रिपब्लिकन पार्टीका नेता केबिन म्याकर्थीबीच लामो समयसम्म विवाद सिर्जना गरेको थियो । अन्ततः मे महिनाको अन्त्यमा जो बाइडेन र म्याकर्थी कर्जाको सिलिङ हटाउने सम्झौतामा पुगेपछि हाल सन् २०२५ जनवरी महिनासम्मका लागि अमेरिकाको आन्तरिक ऋणको सीमा हटेको छ ।

मे महिनामा अमेरिकी अर्थतन्त्रमा देखिएको समस्याले अमेरिकाको वित्तीय व्यवस्थापन संयन्त्र कमजोर रहेको यथार्थ विश्वसामु आएको थियो । जेनेट एलेनले तोकेको समयमा आन्तरिक ऋण सीमाको विवाद सक्किएता पनि यसले आगामी ३ वर्षसम्मका लागि अमेरिकी अर्थतन्त्रको अवस्था शिथिल रहेको जनाउँछ । यहि कडीलाई मध्यनजर गर्दै रेटिङ एजेन्सी फिचले अमेरिकी अर्थतन्त्रको सुशासन विगत २० वर्षदेखि कमजोर सिद्ध हुँदै आएको जानकारी दिएको छ ।

फिचको यो निर्णयप्रति ह्वाइट हाउस र वाणिज्य विभागले आपत्ति जनाएका छन् । वाणिज्य विभागकी प्रमुख जेनेट एलेनले फीचको यो निर्णय पुरानो डाटामा आधारित भएको र अमेरिकी अर्थतन्त्र बलियो रहेको अभिव्यक्ति दिएकी छिन् । यस्तै ह्वाइट हाउसकी सचिव केरिन जीन पेरीले फीचको रेटिङ डाउनग्रेडलाई अस्वीकार गर्दै विषम् परिस्थितिका बावजुद अमेरिकाको अर्थतन्त्र बलियोसँग रिकर्भर भएको र अर्थतन्त्रमा कुनै समस्या नदेखिएको बताएकी छिन् ।

फीचको यो निर्णयसँगै लगानीकर्ता त्रासमा परेका छन् । विश्वका ३ ठूला रेटिङ एजेन्सीहरु मध्ये दुई एजेन्सीहरुले अमेरिकाको रेटिङ ‘ट्रिपल ए’ बाट घटाएर ‘डबल ए प्लस’ रेटिङ गरेका छन् । सन् २०११ मा एस एन्ड पी रेटिङले अमेरिकालाई डबल ए प्लस रेटिङ दिएको थियो । यस्तै सन् २०२३ मा फिचले अमेरिकालाई डबल ए प्लस रेटिङ गरेको छ । तथापि मूडीज रेटिङ एजेन्सीले अमेरिकालाई ट्रिपल ए रेटिङ गरेको छ ।

रेटिङमा गिरावट आएसँगै लगानीकर्ताको आत्मविश्वासमा गिरावट आएको छ । जसकारण मंगलबार अमेरिकी सेयरबजारमा गिरावट आएको छ । लगानीकर्ताले ऋण लिँदा रेटिङलाई आधार मान्ने गरेका छन् । दुई ठूला रेटिङ एजेन्सीले रेटिङ घटाएर डबल ए प्लस रेटिङ गर्दा अमेरिकामा हाल विवाद सिर्जना भएको छ ।
लगानीकर्ताको मनोबल कमजोर हुँदा अगस्ट १ तारिखमा अमेरिकी सेयर सूचांक एस एन्ड पी ०.२७ प्रतिशतले ओरालो लागेको छ । यस्तै नासडाक् कम्पोजीट सूचांक ०.४३ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।