एआई शैक्षिक कार्यक्रम सञ्चालनका लागि किङ्स कलेज र नामीबीच साझेदारी

0
Shares

नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिक्षाको पहुँच बढाउन किङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स एण्ड इन्फरमेटिक्स इन्स्टिट्युट फर रिसर्च (नामी)ले संयुक्तरुपमा आर्टिफिसियल इन्टेलीजेन्स सम्बन्धी शैक्षिक पाठ्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।

साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै दुई संस्थाहरुले छिट्टै नै एआई शैक्षिक पाठ्यक्रम अन्तर्गतको ६ महिने कक्षा सञ्चालन गर्ने जनाएका छन् । यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टेलीजेन्स सम्बन्धी विभिन्न विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

किङ्स कलेज र नामीले व्यक्ति तथा संस्थाहरूको विशिष्टीकृत आवश्यकता परिपूर्ति गर्नको लागि आवश्यक उच्च गुणस्तरीय शैक्षिक कार्यक्रमको डिजाइन गरी वितरण गर्नको लागि हातेमालो गरेका हुन् । कार्यक्रमको प्रथम चरणमा सूचना प्रविधि तथा इञ्जिनियरिङ्ग विधामा काम गरिरहेका व्यक्तिहरुलाई लक्षित गरेतापनि पछि आर्टिफिसियल इन्टेलीजेन्स क्षेत्रमा रुचि राख्ने जो कसैले पनि यस शैक्षिक शिक्षण कार्यक्रममा सहभागी हुन पाउने कलेजले जनाएको छ । यस कार्यक्रममा संलग्न हुन चाहने विद्यार्थीहरुले पाइथन प्रोग्रामिङ चलाउन जानेको हुनुपर्ने छ ।

पछिल्लो समय विश्वमै मूलधार प्रवृत्तिको रुपमा विकास भइरहेको आर्टिफिसियल इन्टिलिजेन्सको क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उद्देश्यका साथ यस शैक्षिक कार्यक्रमका लागि नामीसँग साझेदारी गरेको किंड्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले बताए ।

“विश्वव्यापी क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्सको तीव्र विकास भइरहेको परिपेक्षमा नेपालमा पनि यस क्षेत्रप्रति आम मानिसको चासो र रुचि बढिरहेको यथार्थलाई ध्यानमा राखी यस बारे विश्वका उत्कृष्ट प्रयोगशाला र विश्वविद्यालयमा अध्यापन र अन्वेषण गरिरहेका एआई विज्ञहरूको प्रत्यक्ष संलग्नतामा प्राजिक शिक्षा प्रदान गरिने छ” भनी नामीका संस्थापक तथा निर्देशक डा. विशेष खनालले जानकारी दिए।

किड्स कलेज र नामीको साझेदारीमा सञ्चालन हुन लागेको यो एआई शैक्षिक कार्यक्रमबाट नेपालको शिक्षा क्षेत्रमा नविनतम प्रविधिद्धारा प्रयोगात्मक र गुणात्मक शिक्षाको विकास हुने र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार हुने विश्वास लिईएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।