सिद्धार्थ बैंकको नाफा बढेपनि खस्कियो प्रतिसेयर आम्दानी, कति बाँड्ला लाभांश ?

0
Shares

सिद्धार्थ बैंकको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकका अधिकांस सूचकहरुमा सुधार आएको छ । पहिलो पटक ३ अर्ब बढी नाफा कमाएको बैंकको जोखिम व्यवस्थापन खर्च बढ्दा प्रतिसेयर आम्दानीमा गिरावट आएको छ ।

बैंकले गत आर्थिक वर्षमा ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। बैंकको नाफा बढेपनि पुँजी बढेको अनुपातमा नाफा गर्न नसक्दा प्रतिसेयर आम्दानी खस्केको छ ।समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५३ पैसा घटेर २२ रुपैयाँ ६४ पैसामा सीमित भएको छ।

त्यस्तै बैंकको खराब कर्जा बढ्दा जोखिम व्यवस्थापन खर्च ह्वात्तै बढेको छ । जसले गर्दा बैंकको वितरण योग्य नाफामा उच्च गिरावट देखिएको छ । बैंकको वितरण योग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिसेयर वितरण योग्य आम्दानी ५ रुपैयाँ ६५ पैसा रहेको छ। बैंकको वितरण योग्य नाफा झण्डै साढे ४१ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत, कुल सञ्चालन आम्दानी १४.५७ प्रतिशत र सञ्चालन मुनाफा ९.८३ प्रतिशत बढेको छ।

१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १६.७६ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.०६ प्रतिशत बढेको छ।

बैंकको प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ, कस्ट अफ फण्ड ७.८२ प्रतिशत,सीडी रेसियो ७७.१६ प्रतिशत र पीई रेसयो ११.१७ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।