वाणिज्य बैंकहरूको नाफा २५% ले बढ्यो, ७० अर्ब १७ करोड खुद नाफा आर्जन

0
Shares

वाणिज्य बैंकहरुको खुद नाफा २४.९३ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले गत आव २०७९।८० मा कुल ७० अर्ब १७ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको परिष्कृत वित्तीय विवरणको तुलनामा गत आवको अपरिष्कृत वित्तीय विवरणको तुलना गर्दा यस्तो देखिएको हो । यसबीचमा ६ वटा वाणिज्य बैंक एक आपसमा मर्जर भई विलय भएको अवस्था छ । विलय भएका बैंकहरुको नाफा समेत विलय गर्ने बैंकमा जोडिँदा नाफाको बढोत्तरी धेरै देखिएको हो ।

अघिल्लो आव २०७८/७९ को परिष्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरुले ५७ अर्ब १७ करोड २३ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

दुई वाणिज्य बैंकको नाफा ७ अर्ब माथि, थप ३ ले पनि कमाए ४ अर्बमाथि

गत आर्थिक वर्षको अन्त्यसम्ममा नबिल बैंक र ग्लोबल आईएमई बैंकले ७ अर्बभन्दा धेरै खुद नाफा आर्जन गरेका छन् । सबैभन्दा धेरै नाफा आर्जन गरेको नबिल बैंकले ७ अर्ब ५२ करोड माथि खुद नाफा आर्जन गर्दा ग्लोबल आईएमई बैंकले पनि ७ अर्ब २५ करोड रुपैयाँ माथि नाफा कमाएको हो । ग्लोबलले बिओकेलाई गाभेर गत आवमा एकीकृत कारोबार थालेको थियो ।

यसैगरी गत आवमा राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड, एनआईसी एशिया बैंकले ४ अर्ब ६५ करोड र मेगा बै.कसँग विग मर्जर गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ भन्दा धेरै खुद नाफा कमाएको छ ।

थप ७ बैंकहरुको नाफा ३ अर्बभन्दा धेरै ४ अर्बभन्दा कम छ । गत आवमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, एनएमबि बैंक, एभरेष्ट, सिभिल बैंकसँग विग मर्जर गरेको हिमालयन बैंक, सिद्धार्थ र कृषि विकास बैंकले तीन अर्बभन्दा धेरै खुद नाफा आर्जन गरेका हुन् ।

Commercial Bank Net Profit in Thousand
S.N. Bank  FY 2079-80 FY 2078-79 Change %
1 Nabil 7527149.00 4256024.00 76.86
2 Standard Chartrd 3525417.00 2255934.00 56.27
3 Laxmi Sunrise* 2261889.00 1513453.00 49.45
4 Prabhu* 2825249.00 1902015.00 48.54
5 Global Ime* 7253455.00 4959225.00 46.26
6 Agriculture Devlopment 3099337.08 2225765.95 39.25
7 Himalayan* 3266167.78 2367538.24 37.96
8 Everest 3393154.00 2479401.00 36.85
9 Nepal SBI 2241642.86 1638309.92 36.83
10 Sanima 2619216.64 2093115.83 25.13
11 Nepal Bank 3411526.80 2923277.57 16.70
12 Rastriya Banajya  4917199.32 4292821.85 14.54
13 Nepal Investment Mega* 4296622.00 3797604.00 13.14
14 Citizen Bank  2214425.23 2005610.80 10.41
15 Nic Asia 4651338.48 4214926.95 10.35
16 Siddhartha 3190111.74 2902464.04 9.91
17 Machhapuchchhre 1851156.89 1686655.25 9.75
18 NMB 3410499.00 3291094.00 3.63
19 Prime Commercial 2263154.09 2787336.35 -18.81
20 Kumari* 1957107.46 2579809.83 -24.14
*Merger Total 70175818.36 56172382.56 24.93

माथिको तालिकामा मर्जरबाट विलय भएका बैंकले अघिल्लो आव २०७८।७९ मा आर्जन गरेको खुद नाफालाई समावेश गरिएको छैन ।

यसैगरी ६ वटा बैंकले २ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाउँदा २ बैंकको नाफा २ अर्बभन्दा कम छ । यस अवधिमा सेञ्चुरी गाभेको प्रभु बैंकले २ अर्ब ८२ करोड, सानिमा बैंक २ अर्ब ६१ करोड, प्राइम २ अर्ब २६ करोड, सनराज् र लक्ष्मी बैंकबीच मर्जर भई बनेको लक्ष्मी सनराइज बैंकले २ अर्ब २६ करोड, नेपाल एसबिआई बैंकको खुद नाफा २ अर्ब २४ करोड र सिटिजन बैंकले २ अर्ब २१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा एनसीसीसँग मर्जर भई बनेको कुमारी बैंकले १ अर्ब ९५ करोड नाफा कमाएको छ । गत आवमा माछापुच्छ्रे बैंकले सबैभन्दा कम १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।

नबिलले बढायो सर्वाधिक नाफा, प्राइम र कुमारीको भने घट्यो

अघिल्लो आवको तुलनामा गत आवमा १८ वटा वाणिज्य बैंकले आफ्नो खुद नाफा बढाउँदा नबल बैंकले सबैभन्दा धेरै वृद्धि गरेको छ यस अवधिमा प्राइम र कुमारी बैंकको खुद नाफा घटेको छ ।

गत आवमा सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंकले ७६.८६ प्रतिशतले नाफा वृद्धि गरेको हो । दोस्रो ठूलो स्ट्याण्डर्ड चार्टडले ५६.२७ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४९.४५, प्रभु बैंकले ४८.५४ र ग्लोबल आइएमई बैंकले ४६.२६ प्रतिशतले खुद नाफा बढाएको छ ।

यसैगरी कृषि विकास बैंकले ३९.२५ प्रतिशत, हिमालयन बैंकले ३७.९६, एभरेष्ट बैंक ३६.८५ र नेपाल एसबिआई बैंकले ३६.८३ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आवको तुलनामा सानिमा बैंकले २५.१३ प्रतिशतले नाफा बढाउँदा नेपाल बैंकले १६.७० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले १४.५४, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १३.१४, सिटिजन बैंकले १०.४१ र एनआईसी एशिया बैंकले १०.३५ प्रतिशतले खुद नाफा बढाएको हो । गत आवमा सिद्धार्थ बैंकले ९.९१ प्रतिशत, माछापुच्छ्रे बैंकले ९.७५, एनएमबि बैंकले ३.६३ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।

एनसीसी बैंकसँग विग मर्जर गरी एकीकृत कारोबार थालेको कुमारी बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा सर्वाधिक २४.१४ प्रतिशतले घटेको छ भने प्राइम कमर्सियल बैंकको पनि १८.८१ प्रतिशतले नाफा घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।