तीन महिना नपुग्दै जीराको भाउ झण्डै दोब्बर पुग्यो

0
Shares

भारतमा चर्किएको मूल्यवृद्धिले नेपाली उपभोक्ताको भान्सा महँगिएको छ । ३ महिना पहिला ८ सय प्रतिकिलोमा पाइने जीराको भाउ अहिले १५ सय ५० रुपैयाँसम्म पुगेको छ ।

भारतमा जीरा उत्पादन कम भएका कारण नेपालमा त्यसले असर गरेको व्यापारी बताउँछन् । तीन महिनाको अवधिमा नै जीरा लगायत अन्य वस्तुको भाउ यसरी वृद्धि हुँदा दैनिक जीवन चलाउन नै कष्टकर भएको उपभोक्ताको गुनासो छ । पर्याप्त अनुगमन नहुँदा व्यापारीहरूले आफूखुसी मूल्य राखेर मौकामा चौका हान्ने प्रवृतिले उपभोक्ता मारमा परेका हुन् ।

सबै कुरा अन्तर्राष्ट्रिय क्षेत्रबाट आयात गर्नुपर्ने बजार अनुगमनको जिम्मा पाएको वाणिज्य विभागले बजार अनुगमन प्रभावकारी नबनाउँदा उपभोक्ता मारमा पर्ने गरेका छन् ।

यता वाणिज्य विभाग भने अनुगनलाई तिव्रता दिएको बताउँदै आएको छ । ‘हामीले हाम्रो स्रोत साधनले भ्याएसम्म बजार अनुगमन गरेका छौं, अनुगमनका क्रममा जीरा प्रतिकिलो १२ सय रुपैयाँसम्म मात्र लिने गरेको भेटेका छौं’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता शिवराज सेढाईँले भने ।भारतबाट नै बढेर आएको हुनाले भाउ बढेको उनको तर्क छ ।

नेपालमा कतार, टर्की, बेल्जियम लगायत देशबाट जीरा आयात हुने गरेको छ । तर नेपालमा खपत हुने धेरैजसो जिरा भारतबाट नै आउने गरेको छ । नेपालले गत आर्थिक वर्ष (२०७९/८०) मा भारतबाट मात्रै २ अर्ब ३ करोड ९० लाख रुपैयाँको ६१ लाख ८२ हजार केजी जीरा आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । त्यस्तै, नेपालले उक्त आयातित जीराबाट ३७ करोड ६३ लाख रुपैयाँको राजस्व संकलन गरेको छ ।

त्यसबाहेक टर्कीबाट ६५ लाख ३१ हजार रुपैयाँको ५४ हजार केजी र बेल्जियमबाट ६३ हजार रुपैयाँ बराबरको ३७ किलो जिरा आयात भएको विभागको तथ्यांकले देखाएको छ । यस्तै कतारबाट ३ हजारको २ केजी जिरा आयात भएको छ ।

नेपालले जीरा आयातका लागि अन्य देशको नै भर पर्नुपर्ने कृषि विभागका प्रवत्ता जानुका पण्डित बताउँछिन् । नेपालमा जीरा उत्पादन नहुने उनको भनाइ छ । अन्य मसलाबाली उत्पादन हुने तर जीरा उत्पादन नहुने उनको तर्क छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।