विशिष्ट श्रेणीमा मात्रै नभई राष्ट्र बैंकको सामान्य जागिरमा पनि उत्तिकै आकर्षण

0
Shares

नेपालको केन्द्रीय बैंक तथा नेपालको वित्तीय प्रणालीको नियामक निकाय–नेपाल राष्ट्र बैंकको जागिरमा मानिसहरुको उच्च आकर्षण देखिएको छ ।

राष्ट्र बैंकले हालै प्रकाशन गरेको एक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०२१/२२ मा बैंकले सहायक पदका लागि खुलाएको आवेदन र ती पदमा आवेदन दिने आवेदकको अनुपात ८९६.५२ गुणासम्म रहेको छ । नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा नेपाल राष्ट्र बैंकको जागिर सबैभन्दा प्रतिष्ठित जागिरको रुपमा लिइन्छ । जसकारण मानिसहरु राष्ट्र बैंकको जागिरका लागि रस्साकस्सी गर्दै आएका छन् ।

आर्थिक वर्ष २०२१/२२ मा राष्ट्र बैंकले ५८ वटा अधिकृत तृतीय पदका लागि आवेदन खुलाएको थियो । यस पदका लागि ५ हजार ६९२ जनाले आवेदन दिएका थिए । यस्तै बैंकले सहायक पदका लागि २५ वटा आवेदन खुलाएको थियो । जसका लागि २२ हजार ४१३ जनाले आवेदन दिएका थिए । यो तथ्यांकबाट समेत राष्ट्र बैंकको जागिरका लागि नेपाली नागरिक उत्साहित छन् भन्ने बुझ्न सकिन्छ ।

यस्तै आव २०२०/२१ मा समेत राष्ट्र बैंकले अधिकृत तृतीयका लागि ३८ आवेदन खुल्ला गरेको थियो । जसका लागि ४ हजार ५१५ मानिसहरुले आवेदन दिएका थिए । यस्तै सोही वर्षमा बैंकले सहायक पदका लागि १२ आवेदन खुल्ला गरेको थियो । सो पदका लागि कुल १७ हजार ७५५ मानिसहरुले आवेदन दिएका थिए ।

नेपालमा सरकारी जागिरको मोह आजपनि मानिसहरुमा उत्तिकै छ । बैंकले दिने तलब, भत्ता, सेवा सुविधा, विभिन्न समयमा हुने पदोन्नति र सोही पदोन्नतिसँगै मिल्ने सामाजिक प्रतिष्ठाका कारण मानिसहरुको सरकारी जागिरका लागि आकर्षण बढ्दो छ । साथै बैंकमा काम गरेपछि रिटायरमेन्ट लिएपछि समेत निजी क्षेत्रमा, राष्ट्रिय तथा अन्तराष्ट्रिय एजेन्सीहरुमा राम्रो तलब भत्तामा सजिलै काम पाउन सकिन्छ ।

सन् २०२२ को जुलाई महिनासम्ममा नेपाल राष्ट्र बैंकमा काम गर्ने कर्मचारीहरुको सङ्ख्या १ हजार ८२ रहेको छ । जसअन्तर्गत ९९९ कर्मचारीहरु अधिकृत र सहायक तहका छन् भने ८३ जना कार्यालय सहयोगीको भूमिकामा रहेका छन् ।

राष्ट्र बैंकमा जागिर गर्ने मानिसहरुको शैक्षिक योग्यता विद्यावारिधिदेखि एसएलसी सम्म रहेको छ । जसअन्तर्गत पीएचडी गरेका १४ जना, एमफिल गरेका १४ जना, मास्टर्स गरेका ६ सय ७ जना कर्मचारी रहेका छन् । त्यस्तै सीए अध्ययन गरेका ५३ जना, ब्याचलर्स तहसम्म अध्ययन गरेका १८६ जना प्लस टु सम्म अध्ययन गरेका ६७ जना एसएलसी सरह अध्ययन गरेका ५८ कर्मचारी कार्यरत छन् ।

बैंकले प्रदान गर्दै आएको तालिम तथा कर्मचारी अभिवृद्धि कार्यक्रमबाट २० प्रतिशत मानिसहरुमात्रै सन्तुष्ट रहेका छन् । बाँकी ८० प्रतिशत कर्मचारीहरुको बैंकले आवश्यकता अनुसारको तालिमहरु दिन नसकेको गुनासो रहेको छ ।

बैंकमा कार्यरत कुल कर्मचारी मध्ये ७५ प्रतिशत पुरुष रहेका छन् भने २५ प्रतिशत महिला छन् । बैंकमा ५ वर्षबढी काम गर्ने मानिसहरुको सङ्ख्या कुल कर्मचारीको एक तिहाइ रहेको प्रतिवेदनमा उल्लेख छ । बाँकी कर्मचारीहरुले ३ वर्ष वा सोभन्दा कम समय बैंकमा काम गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।