विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४ करोडले घट्यो, प्रणाली विस्तार र सुधारमा ४८ अर्ब लगानी

0
Shares

नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा प्राधिकरणको नाफा १ अर्ब ४ करोडले घटेको हो ।

आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । आव २०७८/७९ मा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको थियो । आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

प्राधिकरणले विद्युत् बिक्री र अन्य आम्दानी गरेर १ खर्व १८ अर्व रुपैयाँ पुगेको छ । प्राधिकरणले गत आर्थिक वर्ष मुलुकभित्रै विद्युत् बिक्रीबाट कुल ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ भने भारतलाई विद्युत् बिक्री गरी १० अर्ब ५९ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ ।

विगत दुई वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट करिब ४८ अर्व रुपैयाँ बराबरको रकम प्रसारण एवं वितरण प्रणालि विस्तार र सुधारमा लगानी गरेको छ । साथै सरकारको कोषमा सावाँ, व्याज र रोयल्टी गरी करिव ३० अर्व जम्मा गरेको छ ।

यता प्राधिकरणको विद्युत चुहावटमा भने गिरावट आएको छ । आर्थिक वर्ष २०७७।७८ मा १७.३८ प्रतिशत रहेको विद्युत चुहावट ३.९२ प्रतिशतले घटेर हाल १३.४६ प्रतिशत पुगेको छ । वितरणतर्फको विद्युत चुहावट ९ दशमलव ७६ प्रतिशतमा सीमित भएको छ ।

किन घट्यो प्राधिकरणको नाफा

गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा उत्पादन प्रभावित भएपछि नाफा घटेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निदेशक कुलमान घिसिङले बताए । पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत् उत्पादनमा ह्रास आएकाले हुँदा नाफा प्रभावित भएको उनको भनाई छ ।

यस्तै आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको उनी बताउँछन् । गत आर्थिक वर्षमा सुख्खा यामको समय बढेर खोला तथा नदी नालामा पानीको बहाव घट्दा हिउँ नपरेको कारणले हिमालमा हिउँको परिमाण घटेको बताउदै उनले भने, ‘निजी क्षेत्रका जलविद्युत केन्द्रहरू विद्युत् उत्पादनमा ह्रास आउँदा आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको हो ।’

उनले विद्युत् आपूर्तिमा गड्बढी भएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न प्रणालीमा सुधार, पूर्वाधार निर्माण र सुदृढीकरण अगाडि बढाइएको पनि दाबी समेत गरेका छन् ।

सेयर जारी गर्दै प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । तेस्रो वित्तिय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणलाई क्रेडिट रेटिङ गरी इक्रा एनपी डबल ए प्लस रेटिङ प्रदान गरेको छ ।

डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।