विश्वको चौथो ठूलो अर्थतन्त्र जर्मनी आर्थिक संकट उन्मुख

0
Shares

विश्वको चौथो ठूलो अर्थतन्त्र र युरोप क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र–जर्मनी संकट उन्मुख अवस्थामा पुगेको छ ।

पेट्रोलियम पदार्थका लागि रुसमा निर्भर रहेको जर्मनीले समयमा वैकल्पिक बाटो खोजी गर्न नसक्दा हाल जर्मनी ठूलो समस्याबाट गुज्रिरहेको छ ।

विश्वव्यापी रुपमा आकाशिएको मुद्रास्फीति दर नियन्त्रणमा ल्याउन विश्वका अधिकांश देशहरुले ब्याजदर आक्रामक शैलीमा बढाएका छन् । अमेरिका, बेलायत, क्यान्डा, कोरिया लगायतका देशका केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहँदा युरोपको केन्द्रीय बैंकले समेत आक्रामक शैलीमा ब्याजदर बढाइरहेको छ । जसकारण मानिसहरुको ऋण लिएर लगानी गर्ने क्षमतामा ह्रास आएको छ ।

यस्तै पूर्वी युरोपमा रुस र युक्रेनमा युद्ध जारी रहँदा रुसबाट जर्मनीमा गरिने पेट्रोलियम पदार्थ निर्यात रोकिएको छ । जसकारण जर्मनीमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । यसरी मानिसहरुले दैनिक रुपमा गर्ने खर्चमा कमी आएको छ ।

यसका साथै अधिकांश जर्मन कम्पनीहरु चीनमा सञ्चालित छन् । हालै सार्वजनिक भएको तथ्यांकले चीनमा औद्योगिक क्रियाकलापले तीव्रता लिएता पनि मागमा आएको कमीका कारण चीनको व्यापार सुस्ताएको सुझाएको थियो । चीनको व्यापारिक गतिविधिमा कमी आएसँगै व्यापारिक सम्झौता गरेको जर्मनी पनि समस्यामा परेको छ ।

युरोप क्षेत्रका अरु राष्ट्रहरुको आर्थिक वृद्धिमा सुधार आउँदा जर्मनीको आर्थिक वृद्धि दर ऋणात्मक रहेको छ । सन् २०२३ मा जर्मनीको आर्थिक वृद्धि दर ०.१ प्रतिशतले ऋणात्मक रहने युरोपियन केन्द्रीय बैंकले प्रक्षेपण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।