एनआईसी एशिया बैंकका तीन कर्जा योजना सार्वजनिक, व्याजदर कति ?


एनआईसी एशिया बैंक लिमिटेडले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन किसिमका कर्जा योजना सार्वजनिक गरेको छ ।

न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट घर कर्जा योजना सुरु गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा न्यूनतम ब्याजदरमा उपभोग गर्न सकिने योजनामा निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ।

अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने समेत बैंकको विज्ञप्तिमा उल्लेख छ ।

व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम ५ करोडसम्म कर्जा उपलब्ध हुने बैंकले जनाएको छ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ।

साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले ल्याएको न्यूनतम ५० लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट शेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) व्यवस्था रहेको बैंकको भनाई छ।

गत आर्थिक वर्ष २०७९।०८० को चौथो त्रैमासमा बैंकको आधार दर ९.९८ प्रतिशत छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको व्याजदर अनुसार साधारण निक्षेपमा ६.०७३ प्रतिशतदेखि ८.०७३ प्रतिशत तथा मुद्धती निक्षेपमा ८.९३६ प्रतिशतदेखि १०.९३६ प्रतिशत व्याजदर कायम हुने उल्लेख छ । साथै कर्जातर्फ सबै किसिमका कर्जामा आरदरमा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने उल्लेख छ । १ वर्षका लागि १४.९९ प्रतिशतको फिक्स व्याजदरमा पनि कर्जा लिन सकिने बैंकको सूचनामा उल्लेख छ ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जालबाट सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।