आन्तरिक ऋण जुटाउन १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरेको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको हो ।

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । उक्त विकास ऋणपत्रको बोलकबोल साउन २८ र निष्कासन साउन २९ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

यो विकास ऋणपत्र ८ वर्ष अवधिको हुनेछ । साउन २९ गते निष्काशन मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८८ साउन २९ गते हुनेछ । केन्द्रीय बैंकले जारी गर्ने उक्त विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।ऋणपत्रको व्याजदर (कुपनरेट) बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ।

विकास ऋणपत्र खरिद गर्न इच्छुकले साउन २८ गते दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् । प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालालार्ई निष्काशित रकमको ८ अर्ब ५ करोड (८५ प्रतिशत) र १ अर्ब ५ करोड (१५ प्रतिशत) छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने बैंकले जनाएको छ ।

विकास ऋणपत्र खरिदकर्ताले खरिद गरेको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाउनेछन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ । निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।

सरकारले आन्तरिक ऋण परिचालनका लागि हाल चार प्रकारका उपकरणहरू परिचालन गर्दै आइरहेको छ । तीमध्ये ट्रेजरी बिल अल्पकालीन ऋणको उपकरण हो भने विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र मध्यम र दीर्घकालीन ऋणका उपकरणहरू हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।