नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महोत्तरीका डा. रञ्जित कुमार यादव नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेका वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको स्पष्ट पारेको छ ।
सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल मेडिकल काउन्सिलबाट आएको पत्रका आधारमा डा. यादव वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको जानकारी दिए ।
सिआइबीले विज्ञप्ति जारी गरी भनेको छ, “नेपाल मेडिकल काउन्सिल, बाँसबारीको पत्रमार्फत रञ्जित कुमार यादवको प्रमाणपत्रको प्रतिलिपि माग हुँदा यस काउन्सिलमा दर्ता भएका चिकित्सक रञ्जितकुमार यादवको दर्ता प्रमाण पत्र र आवेदन फाराम भुलबस संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको जानकारी गराउँदछु भन्ने समेत बेहोराको प्राप्त पत्र र प्रमाण कागजातअनुसार हाल पक्राउ परेका डा. रञ्जितकुमार यादव वास्तविक प्रतिवादी नभएको यकीन हुन आएको हुँदा निजलाई प्रस्तुत कसुरको अनुसन्धानका लागि हिरासतमा राखीराख्न आवश्यक नदेखिएकाले जिम्मा जमानीमा छाडिएको छ ।”
सिआइबीले डा. यादवलाई लिखतसम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा यही साउन २५ गते भक्तपुरबाट पक्राउ गरेको थियो । सिआइबीले काठमाडौँ जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृति गरी पक्राउ मितिबाट लागू हुने गरी प्रथम पटक पाँच दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान थालेको थियो ।
यसअघि सिआइबीले नियन्त्रणमा लिएका सांसद सुनिल शर्मा पनि जिल्ला अदालतको आदेशले रिहाइ भइसक्नुभएको छ । सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अन्य ६ चिकित्सकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । -रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
