मर्जरको सीनर्जीः सूर्यज्योति लाइफको खुद नाफा २३% बढ्यो, अन्य सूचक कस्ता ?

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा २३.१८ प्रतिशतले बृद्धि भएको छ । मर्जरको सकारात्मक प्रभाव कम्पनीको वित्तीय विवरणमा देखिएको हो ।

कम्पनीले प्रकाशन गरेको गत आवको वित्तीय विवरण अनुसार कम्पनीले बीमाङ्कीय मूल्याङ्कनअघि ४६ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा बीमाङ्कीय मूल्याङ्कनअघिको नाफा ३७ करोड ३७ लाख ४१ हजार थियो । जीवन बीमा कम्पनीहरुको वास्तविक मुनाफा भने बीमाङ्कीय मूल्याङ्कनपछि मात्रै प्राप्त हुन्छ ।

तत्कालीन सूर्या लाइफ र ज्योति लाइफ मर्जर भई सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो । मर्जरले कम्पनीको जीवन बीमा कोष ३२.६० प्रतिशत, जगेडा कोष ७२.४९ प्रतिशत, महाविपत्ति कोष १९.५२ प्रतिशतले बढेको छ । खुद बीमशुल्क संकलन भने ०.३१ प्रतिशत, व्यवस्थापन खर्च ७.८३ र अभिकर्ता कमिसन खर्च १७.७९ प्रतिशतले घटेको छ । खुद दाबी भुक्तानी ४२.६२ प्रतिशतले वृद्धि गरेको कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय पनि ११.९३ प्रतिशतले बढोत्तरी गरेको छ ।

अपरिष्कृत वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषको आकार २६ अर्ब ९९ करोड १६ लाख ३० हजार रुपैयाँ, जगेडा कोष २ अर्ब ४८ करोड ५० लाख ८८ हजार र महाविपत्ति कोषमा ३२ करोड ५७ लाख ७७ हजार रुपैयाँ रहेको छ । यसरी कुल कोषको आकार २२ अर्ब ६ करोड ८९ लाखबाट ३५ प्रतिशत वृद्धि भई २९ अर्ब ८० करोड २४ लाख ९६ हजार पुगेको छ ।

चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीलाई बीमा प्राधिकरणले तोकेको पुँजी कायम गर्न थप ४६ करोड पुँजी थप्नुपर्ने देखिन्छ । गत आवमा कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १० रुपैयाँ १३ पैसा, प्रति सेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा र प्रति सेयर कूल सम्पत्तिको मूल्य ७८४ रुपैयाँ ८२ पैसा छ ।

सुर्यज्योति लाइफको खुद बीमा शुल्क संकलन ८ अर्ब ५४ करोड ९ लाख रुपैयाँबाट ८ अर्ब ५१ करोड ४२ लाख ४० हजार रुपैयाँमा झरेको छ । खुद दावी भुक्तानी अघिल्लो आवमा १ अर्ब ४२ करोड १७ लाख ४१ हजार रहेकोमा हाल २ अर्ब ४ करोड १८ लाख ७० हजार पुगेको छ ।

यस्तै कम्पनीको कर्जा लगानी तथा अन्यबाट २ अर्ब ५० करोड ३ लाख १५ हजा आम्दानी गरेको छ । व्यवस्थापन खर्च ९६ करोड ६७ लाखबाट घटेर ८९ करोड ११ लाख रुपैयाँमा झरेको छ । कम्पनीका अभिकर्ताले पाउने कमिशन १७.७९ प्रतिशतले घटेर ९१ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ११ करोड ५० लाख ८३ हजार रुपैयाँ कमिशन बापत अभिकर्तालाई वितरण गरेको थियो ।

असार मसान्तसम्म २ अर्ब ६ करोड ५ लाख ८९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले ७७ दाबीको २ करोड ९१ लाख भुक्तानी गर्न बाँकी छ ।अघिल्लो आवमा ११ हजार १९ दाबी वापत १ अर्ब ६२ करोड५० लाख दाबी भुक्तानी गर्दा ११२ वटा संख्यालाई ४ करोड ८४ लाख दाबी भुक्तानी गर्न बाँकी थियो ।

कम्पनीमा हालसम्म कायम रहेको बीमा पोलिसी संख्या ५ लाख ४४ हजार ८१९ बाट बढेर ११ लाख ३० हजार ५७५ रुपैयाँ पुगेको छ । यस अवधिसम्म कम्पनीले कूल ७ अर्ब ३४ करोड क४ लाख ६१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोछ । कम्पनीले बीमितलाई पोलेसीको प्रकार र अवधि हेरी प्रतिहजार न्यूनतम ४० देखि ९० रुपैयाँसम्मको बोनस दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।